१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूर्वको प्रसिद्ध मनकामना मन्दिर ओझेलमा


९ फागुन, भाेजपुर । पूर्वको प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्र ओझेलमा परेको छ । अरुण नदीको सत्तिघाट नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । भोजपुर र सङ्खुवासभाको सिमाना अरुण नदीको किनारमा रहेको यो स्थलमा दर्शन गर्नको लागि विभिन्न ठाउँबाट भक्तजन पुग्ने गरेका छन् । खाँदबारी नगरपालिका–९ मा पर्ने यो स्थलमा सत्यदेवीको मन मस्तिष्क पतन भएर मनकामना धामको उत्पत्ति भएको मन्दिरको पुजारीका भनाइ छ ।

यहाँ पुगेर दर्शन गरे मनोकाङ्क्षा पूरा हुने मन्दिरका पुजारी मनोज कट्टेलले जानकारी दिए । पूर्वको एक प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको उनको भनाइ छ । “मनकामनाको धेरै ठूलो धार्मिक महत्व छ”, उनले भने, “यहाँको महत्व भक्तजनलाई बुझाउन सकिएको छैन । खासमा यो धाम ओझेलमा परेको अवस्था छ ।”

अनौठो देखिने नदी किनार नजिकै रहेको छत्र शिलालाई पार्वतीको पतन भएको मस्तिष्कको रुपमा लिन सकिने उनको भनाइ छ । यहाँ विभिन्न देवीदेवताको आकृतिसँगै हात्तीको रुप, गरुड, नाग, पार्वती पाइलासमेत देख्न सकिने पुजारी कट्टेलले बताए । “शास्त्रीय चिन्तनलाई मनन गर्दा यसलाई सत्यदेवीको मस्तिष्कको रुपमा लिन सकिन्छ”, कट्टेलले भने, “यहाँ देवताका धेरै रुप हेर्न सकिन्छ । भगवान्को राम अवतार, कृष्ण अवतार र बराह अवतार सबै अवतार एउटै शिलामा रचना भएको छ ।”

यहाँ आउने भक्तजनले पहिला गएर अरुण नदीबाट जल ल्याएर मनकामना छत्र शिलामा पूजा गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सूर्यप्रसाद कट्टेलले जानकारी दिए । पहिला नदी किनारमा रहेको मनकामना छत्र शिला भएको ठाउँमा नै मन्दिर भए पनि २०२१ सालमा आएको बाढीले क्षति गरेपछि थौरै माथितिर मन्दिर निर्माण गरिएको उनले जानकारी दिए ।

“पहिला नदी नजिकै मन्दिर थियो”, पुजारी कट्टेलले भने, “बाढीले क्षति गरेपछि मन्दिरलाई थोरैमाथि स्थानान्तरण गरिएको हो । अहिले पनि पहिलो पूजा तलको छत्र शिलामा नै गरिन्छ ।” बाढीले मन्दिर पुरेपछि त्यहा रहेको छत्र शिलालाई निकालेर घेराबार गरिएको छ । त्यहाँको देवताको मूर्तिलाई मास्तिर लगेर मन्दिर स्थापना गरिएको पुजारी कट्टेलले बताउनुभयो । “मन्दिरमा देश तथा भारतका विभिन्न ठाउँबाट भक्तजन आउछन्”, उनले भने, “मानिसको ठूलो धार्मिक विश्वास रहेको मन्दिर हो । यहाँको संरचनाको पनि विकास भइरहेको छ तर अझै पनि यो ठाउँ ओझेलमा परेको देखिन्छ ।”

विसं २०७२ बाट यहाँ गुरुकुलसमेत सञ्चालन भइरहेको छ । यहाँ डेढ दर्जन बढी बटुकले बेद, रुद्री कर्मकाण्ड, भागवतलगायतको शिक्षा लिँदै आएका छन् । गुरुकुलमा देशका विभिन्न ठाउँबाट बटुक आउने गरेका छन् । धर्म संस्कार संस्कृतिको संरक्षण गर्न गुरु कुल स्थापना गरिएको गुरुकुल सञ्चालक लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए ।

“यहाँ विभिन्न कर्मकाण्डलगायत भागवतको पनि सिकाई हुन्छ”, पोखरेलले भने, “मुख्यरुपमा धर्म, संस्कार संस्कृतिको संरक्षण गर्न गुरुकुल सञ्चालनमा ल्याइएको हो ।” यहाँ सडक तथा खानेपानीको समस्या रहेको उनको भनाइ छ । त्यस्तै दर्शन गर्न आउने भक्तजनको लागि आश्रमस्थल, शौचालय नहुँदा समस्या रहेको उनले बताए । “मुख्यरुपमा यहाँ सडक र खानेपानीको समस्या छ”, उनले भने, “भक्तजनलाई बस्नको लागि आश्रयस्थलको अभाव छ । बर्र्सातको समयमा यहाँ आउनको लागि समस्या छ । यो पवित्र ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

पछिल्लो समय यहाँको विकास लागि केही संरचना निर्माण भइरहेका छन् । यो स्थानमा एकादशीलगायत विभिन्न समयमा मेला लाग्ने गरेको छ । नजिकै रहेको सतीघाटमा पक्की पुल नहुँदा भने भोजपुरबाट यहाँ पुग्ने मानिसलाई समस्या हुने गरेको छ । यो स्थानलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

खाँदबारी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको जनाइएको छ । यहाँ आउने भक्तजनलाई लक्षित गरेर विभिन्न संचरना निर्माण गरिने जनाइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १९:३८