१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्यो


९ फागुन, पर्वत । लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताउनुभयो । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उहाँले बताउनुभयो । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु¥याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । उहाँका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । “सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ”, थापाले भन्नुभयो । पर्वतमा आकासे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाले बताउनुभयो ।

तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उहाँको अनुमान छ । त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरु मारमा परेका छन् । उहाँका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरुसमेत चिन्तित बनेका छन् ।

अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलहरुको भरमा खेतीपाती गर्दै आएका कृषकहरुमा प्रचण्ड खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयोे, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ ।” अर्कोतर्फ पिउने पानीका मुहानहरु सुक्न थालेका छन् । यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार १६:४३