१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राससले खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्छः मन्त्री शर्मा


७ फागुन, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय समाचार समिति (रासस) ले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन् ।

राससको ६२औँ वार्षिकोत्सव समारोहलाई आज केन्द्रीय कार्यालयमा आज सम्बोधन गर्दै उनले सूचना प्रविधि र पाठकको रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक सामग्री उत्पादनमा जोड दिएकी हुन्। स्थानीय समाचारदातालाई अझ बढी व्यवस्थितरुपमा परिचालन गरिनुपर्ने मन्त्री शर्माले बताइन् ।

सेवाग्राहीको सङ्ख्या वृद्धि, संस्थामा उपलब्ध स्रोत, साधनको अधिकतम सदुपयोग, आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकता दिन पनि मन्त्री शर्माले आग्रह गरीन् ।

“आगामी दिनमा रासस थप सबल बन्दै सामाजिक उत्तरदायित्वका सेवामा समेत सहभागी हुन आफ्नै कोषको स्थापना गर्ने योजना ल्याउनुपर्छ, राससलाई अझ बढी विश्वसनीय र प्रभावकारी बनाउन श्रव्यदृश्य समाचार सेवालाई प्राथमिकता दिइ आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था गर्नुपर्छ, आवश्यक स्रोतसाधन र कर्मचारीको वृत्तिविकासमा सरकारबाट आवश्यक सहयोग हुने विश्वास दिलाउन चाहन्छु”, उनले भनिन् ।

सरकारले सञ्चारमाध्यमसँग सम्बन्धित सबै सरोकार भएकासँग सहकार्य गर्दै सङ्घीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानुनमा संशोधन, परिमार्जन एवं नयाँ कानुन बनाइ समसामयिक सुधार गर्न लागिएको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले बताइन् । नेपाली सञ्चारमाध्यममा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिकद्वेष फैल्याउने काममा नियन्त्रण गर्न सञ्चार सम्बद्ध सबै पक्षको सकारात्मक सहयोगका लागि उनले आह्वान गरीन् ।

कार्यक्रममा सार्वजनिक गरिएको ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ ले पत्रकारिता अध्ययन र अध्यापन गर्ने एवं यस सम्बद्ध सबैका लागि अभिलेख बन्ने विश्वास पनि उनले व्यक्त गरीन् । सेवाग्राही सम्मानलाई निरन्तरता दिन पनि मन्त्री शर्माले सुझाव दिइन् । सूचना प्रविधिलाई अधिकतम उपयोग गरी सेवालाई विविधीकरण र व्यावसायिकीकरण गर्दै रासस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीय एवं भरपर्दो सञ्चारमाध्यमका रुपमा स्थापित हुनसक्ने विश्वास उनको थियो ।

राससका चारसयभन्दा बढी सञ्चारमाध्यम ग्राहक रहेकामा खुसी व्यक्त गर्दै मन्त्री शर्माले त्यसलाई अझ वृद्धि गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आईतवार १५:५८