१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियालाई पराजित गर्दै नेपालको लगातार तेस्रो जित


६ फागुन, काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई हराएको थियो ।

नामिबियाले जितका लागि दिएको दुई सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आशिफ शेखले सर्वाधिक ८१ रन बनाए । कूल ९८ बल खेलेको उनले आठ चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी ज्ञानेन्द्र मल्लले ६५ रन बनाए भने कुशल मल्ले ६२ रन जोडे । कप्तान रोहित पौडेलले ३९ रन बनाए । सोमपाल कामी आठ रनमा अविजित रहँदा सन्दीप जोराले तीन तथा कुशल भुर्तेलले एक रन बनाएका थिए । बलिङतर्फ नामिबियाको रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने बेर्नाड स्कोटजले दुई विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे । नामिबियाका अर्का खेलाडी पिकीं या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५–१५ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै करण केसीले एक विकेट लिए । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेल यही फागुन ९ गते स्कटल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २१:३०