४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

एकैपटक पाँच सय ५५ वटा मादल बजाएर नेपाली सेनाको बनायो विश्व रेकर्ड


६ फागुन, काठमाडाैँ । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गर्नुभयो ।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त सङ्ख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले आज हस्तान्तरण गर्नुभएको हो ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिन्छ ।

वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल बादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको मौलिक बाजा मादललाई प्रवद्र्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न ग¥यो । ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वल्र्ड रेकर्डमा सङ्ग्रहित गरेका छौँ ।”

मादल बज्नासाथ प्रत्येक व्यक्तिको मनमा सङ्गीतको तरङ्ग चल्छ । हाम्रो संस्कृतिसँग जोडिएको विशिष्ट पहिचान जोडिएको बाजा मादल नै हो । गायक निर्णय एनएसकेले मुलुकमा व्यापकरूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको प्रतिक्रिया दिनुभयो । सेनाले कायम गरेको रेकर्ड प्रमाणित गर्ने टिममा रहेर आफूले काम गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २१:०८