१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

शान्तदासलाई युद्धप्रसाद मिश्र पुरस्कार


६ फागुन, काठमाडाैँ । अग्रज नेपाली बाल साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार -२०७९ प्रदान गरिएको छ । फागुन ६ गते काठमाडौंमा आयोजित ३३ औँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो पुरस्कार समर्पण गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र महासचिव नन्दु उप्रेतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, पूर्वमन्त्री माननीय रघुजी पन्तले वरिष्ठ बाल साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरलाई सम्मान गर्नुभएको थियो। सम्मान गर्ने क्रममा प्रमुख अतिथि पन्तले पुरस्कृत प्रतिभा शान्तदासले नेपाली साहित्यका विविध पाटोमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कवि युद्धप्रसाद मिश्रलाई गहिरो गरी चिन्ने व्यक्ति मानन्धर भएको बताउनु भयो ।

कार्यक्रममा प्रा.डा. जीवेन्द्रदेव गिरीले पुरस्कृत प्रतिभा शान्तदास मानन्धरको व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्नुभएको थियो भने समाल‍ोचक डा. रामप्रसाद ज्ञावलीले कवि युद्धप्रसादका बारेमा विचारहरू राख्नु भएको थियो । त्यस्तै बागमती प्रदेश सभा सदस्य किरण थापाले युद्धप्रसाद मिश्र साहित्यिक र राजनीतिक व्यक्तिहरूका लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । साहित्यकार एवम् पूर्वमन्त्री शान्ता मानवीले पुरस्कृत प्रतिभा छनोटको प्रक्रियामा अपनाइएको विधिका बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष मदनबहादुर थापाले स्वागत गरेको उक्त कार्यक्रममा उपस्थित आगन्तुकहरूलाई सचिव कमल मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा जनगायकहरू रामेश, रायन, माधव प्रधान, गीतकार श्याम तमोट,कवि श्यामल, प्रा. केशव सुवेदी, नेपाल सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष डा. विजय सुब्बा, प्रा. डा. पशुपतिनाथ तिमल्सेना, युद्धप्रसाद मिश्र पुत्र महेश्वरप्रकाश मिश्र, डा. विन्दु शर्मा, प्राध्यापक जगत उपाध्याय, कृष्णमोहन जोशी, कवि वासुदेव अधिकारी, कवि सुशिला प्रधानाङ्गलगायतका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जनार्दन न्यौपाने, निष्ठा निरौला र प्रतिमा कार्कीले कवि युद्धप्रसाद मिश्रद्वारा लिखित कविताहरू वाचन गर्नुभएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार २०:५९