१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

स्वस्थ्यमन्त्री पदम गिरीको गृह जिल्ला पर्वत अस्पतालमै सुरक्षित सुत्केरी सेवा ठप्प


५ फागुन, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको गृह जिल्ला पर्वतको  जिल्ला अस्पतालमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ । सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द छ । अस्पतालमा जलजला, फलेवास, कुश्मा र मोदी, महाशिला र विहादीका सेवाग्राही सेवा लिन आउने गर्छन् । छिमेकी जिल्ला बागलुङको दक्षिणी क्षेत्र जैमिनी नगरपालिकाका सर्वसाधारण पनि यहाँ उपचारका लागि आउने गर्दछन् । एक महिनादेखि चिकित्सक नहुँदा प्रसूति गराउनका लागि पोखरा, काठमाडौँलगायत ठाउँ पुग्नुपर्ने अवस्था छ ।

पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटकी कुमारी रेग्मी प्रसूति ब्यथाले च्यापेर झण्डै १० किलोमिटर सडक यात्राबाट बिहीबार पर्वत अस्पताल पुग्दा चिकित्सक नभएपछि फर्किएर पोखरा जान बाध्य भएको स्थानीय नवराज क्षेत्रीले बताउनुभयो । एक महिनाअघि आफूलाई पनि यस्तै समस्या परेको उहाँले बताउनुभयो । रेग्मी जस्तै दैनिक अरु गर्भवती र सुत्केरी उपचारका लागि यहाँ आउने गरे सेवा पाउन सकेका छैनन ।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा जटिल खालका गर्भवती सुत्केरी गराउनका लागि शल्यक्रिया सेवा नहुँदा पर्वत अस्पतालमै आउनुपर्ने बाध्यता छ । सेवा नपाएपछि पोखरा तथा काठमाडौँ रिफर गर्नुपरेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल पर्वतकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रुक्मिणा अधिकारीका अनुसार अस्पतालमा कार्यरत चिकित्सक डा हेमन्त बराल एक महिनादेखि तालिममा हुनुहुन्छ । अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पर्वत अस्पतालमा यस मासिक ३० देखि ३५ जनासम्मले सुत्केरी सेवा लिँदै आएका थिए । अहिले सामान्य अवस्थाका बाहेक सबैजसो पोखरा र काठमाडौँ जाने गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०९:४९