१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

निर्वाचन आयुक्त पौड्यालको बिदाइ


४ फागुन, काठमाडाैं । छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरियो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र कानुनको पालना गर्दै मुलुक र जनताको हितमा निष्ठापूर्वक सेवा गर्ने अग्रजका रूपमा आफूले आयुक्त पौड्याललाई पाएको उल्लेख गरे । उनले आयोगको छविलाई उच्च राख्न पौड्यालले खेलेका भूमिकाको प्रशंसा गरे। प्रमुख आयुक्त थपलियाले नयाँ संविधानपछिको पहिलो निर्वाचन (विसं २०७४) देखि नै निर्वाचन सञ्चालन र व्यवस्थापनमा पौड्यालले दिएकाे योगदान आयोग र आमजनताका लागि सम्पत्ति हुने बताउँदै पौड्यालको आगामी जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।

आयुक्त पौड्यालले निष्ठा, सदाचारिता र व्यावसायिकतालाई मूल मन्त्र मानेर आफूले सार्वजनिक सेवामा काम गरेको र जिम्मेवारी पूरा हुँदा आफू खुसी हुने उल्लेख गर्दै नयाँ संविधानपछि कानुनी र व्यवस्थापकीय अनुभवको अभावबीच २०७४ सालको निर्वाचन सफल बनाइएको स्मरण गरे । उनले कानुनको इमान्दारपूर्ण पालनाबाट संवैधानिक आयोगको गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

आयोगमा विसं २०७३ फागुन ५ गते आयुक्तका रूपमा राष्ट्रपतिबाट नियुक्त पौड्यालले सोअघि करिब तीनदशक निजामती सेवामा व्यतित गरी विशिष्ट श्रेष्णी (सचिव) बाट अवकाश प्राप्त गरेका थिए । विसं २०१५ वैशाख ११ गते स्याङ्जामा जन्मिएका पौड्यालले वातावरण इञ्जिनीयरिङ, समाजशास्त्रलगगायत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए । विश्वका ४५ मुलुकको भ्रमण गर्नुभएका पौड्याल सार्वजनिक खरिद, करार व्यवस्थापन, कार्यदक्षता मूल्याङ्कन, खानेपानी व्यवस्थापन, अनुगमन÷मूल्याङ्कन जस्ता विषयमा विज्ञ मानिन्छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १६:२२