१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मसलन्द उद्योगको विकासका लागि सरकारसँग कुरा गर्छाैँः वरिष्ठ उपाध्यक्ष ढकाल


२८ माघ, काठमाडाैँ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताए । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनमा उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए । उनले भने ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताए । देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार २२:३३