१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

निफ्राले वाणिज्य बैंकबाहेकका वित्तीय संस्थामा पनि ब्याजमा पैसा राख्न पाउने


२७ माघ, काठमाडाैं । पूर्वाधार विकास बैंकहरुले अब संस्था सञ्चालनमा आएको ४ वर्षसम्म निक्षेप र अन्य स्रोतलाई बैंक तथा वित्तीय संस्थामा ब्याजमा राख्न पाउने भएका छन् ।

केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त व्यवस्थाबाट इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लगायतका पूर्वाधार विकास बैंकहरु लाभान्वित भएका छन् । अब निफ्राले पनि बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेप बाहेक संकलन भएको स्रोतलाई बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज आउने गरी राख्न पाउनेछ ।

यसअघि पूर्वाधार विकास बैंकको कारोबार सञ्चालन भएको मितिले बढीमा ४ वर्षसम्म प्रतिस्पर्धाको माध्यमबाट वाणिज्य बैंकहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक बैंकमा बढीमा रु. १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सकिने व्यवस्था थियो । तर, परिमार्जित व्यवस्थामा भनिएको छ’ पूर्वाधार विकास बैंकको कारोबार सञ्चालन भएको मितिले बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेपबाहेक संकलन भएको स्रोतलाई संकलन गरेको वर्ष संकलित स्रोतको ७५ प्रतिशतसम्म, दोश्रो वर्ष ५० प्रतिशतसम्म र तेश्रो वर्ष २५ प्रतिशतसम्म प्रतिस्पर्धाको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक संस्थामा बढीमा रु. १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सकिनेछ ।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार १२:०३