७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको सुरुवात, नेपाली समूदायको हितमा काम गर्ने प्रतिवद्धता


२६ माघ, अष्ट्रेलिया । अस्ट्रेलियाको संसदको प्रतिनिधि सभाले क्यानबेरामा आयोजना गरेको विशेष कार्यक्रमका बीच आज अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको सुरुवात भएको छ । समूहको अध्यक्षमा अस्ट्रेलियन लेबर पार्टीका सांसद पिटर खलिल र उपाध्यक्षमा अस्ट्रेलियन लेबर पार्टीका सांसद एन्ड्रयू ब्राग रहेका छन ।

समूहको औपचारिक शुभारम्भ गर्दा समूहका अध्यक्ष पिटर खलिलले नेपाल र अष्ट्रेलियाबीच मैत्रीपूर्ण सम्बन्ध छ दशक भैसकेकोमा खुशी प्रकट गरे । अष्ट्रेलियामा बढ्दो नेपाली समुदायबारे खुशी प्रकट गर्दै खलिलले यस समूहले नेपाली समुदायको हितमा काम गर्न र दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सक्षम हुने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष एन्ड्रयु ब्रागले अस्ट्रेलियाको अर्थतन्त्रमा नेपाली समुदायको योगदानको प्रशंसा गर्दै नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय सहयोगका विभिन्न माध्यम खोज्नुपर्ने आवश्यकतामा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलिका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले समूहका पिटर खलिल,  उपाध्यक्ष सिनेटर एन्ड्रयू ब्राग र समूहका सदस्यहरूलाई नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूहको हिस्सा बन्न पहल र चासो देखाएकोमा धन्यवाद दिए ।

राजदूत पोखरेलले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने हरेक पहललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुमधुर बनाउन यो समूह एउटा महत्वपूर्ण आधार बन्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली समूदायका सदस्य र अष्ट्रेलियन सांसदहरूको बीचमा अन्तरक्रिया पनि भएको थियो । सहभागीले नेपाली समुदायका चासो र चासोका विभिन्न मुद्दाहरू उठाएका थिए । उनीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएकाले नेपाली समुदायलाई अष्ट्रेलिया सरकारको सहयोग बढाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा उपसभामुख शेरोन क्लेडन, अष्ट्रेलियाका संसद सदस्यहरु, राजदूतावासका कर्मचारीहरु, एनआरएनए अष्ट्रेलियाका प्रतिनिधिहरु, नेपाली समुदायका वरिष्ठ सदस्यहरु र सञ्चारमाध्यमका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १०:३०