१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मोरङमा दलित समुदायका ३४ जनालाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान


२६ माघ, मोरङ । मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

मोरङ जिल्लाको थलाहामा माघ २५ गते आयोजित कार्यक्रममा कटहरी गाँउपालिका, थलाहास्थित श्री जनता मा.वि का २७ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि ३४ जना बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

पाँच वर्षे छात्रवृत्ति अभियान अन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सो मध्ये यस वर्ष ३ जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको हो ।

‘छोरी पढाऔँ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकाहरुलाई रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।

शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा जीवन ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता मा वि का प्र अ रामनारायण बिश्वास, सरस्वती मा वि का अध्यापक हरी कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले थालेको शिक्षा र स्वास्थ्यको अभियानबारे प्रकाश पारेका थिए ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका छन ।

यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले यो छात्रवृत्ति अभियानका लागि सहयोग गरेका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १०:०२