१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

चोर छुटाउन पनि अदालतमा सेटिङ !


२६ माघ, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई आज बिहिवार सिन्धुली जिल्ला अदालतमा उपस्थित गराउने भएको छ । आइतबार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार र बुधवार कुराकानी भएको स्रोतले बताएको छ ।

बुधवार जिल्ला न्यायाधिवक्ता र चोरीमा संलग्न भएकाहरूको तर्फका कानुन व्यवसायीका बीचमा दुई जनालाई पुर्पक्ष थुनामा राख्ने र बाँकीलाई धरौटीमा  छोड्नेगरी आन्तरिक तयारी भएको स्रोतले जनाएको छ ।

पछिल्लो समय सिन्धुलीमा न्याय किनबेच हुन थालेको आरोप लागिरहेका बेला बिहिबार अदालतमा पठाइन लागिएको मोटरसाइकल चोरीमा संलग्न भएका भनिएकाहरुलाई उन्मुक्ति दिने प्रयास भएको हो । दुई साता अघि सिन्धुली प्रहरीले चोरीमा संलग्न भएकाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको थियो ।

प्रहरीले सार्वजनिक गरेका व्यक्तिहरुमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम भुजेल, सन्तोष बाराकोटी, जीवन रमौली रहेको सिन्धुली प्रहरीले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार समीर काफ्लेको घरबाट प्रदेश ३–०२–००४ प ६५०३ नम्बर भएको १५० सिसी पल्सर, मोटरसाइकल, घनश्याम भुजेलको घरमाबाट प्रदेश २–०२–००३ प ३१५२ नम्बर भएको अपाचे मोटरसाइकल, मानबहादुर खपांगीको घरबाट बा ५६ प ०५८४ नम्बर भएको २२० सिसी पल्सर मोटरसाइकल, सन्तोष बाराकोटीको घरबाट बा ९१ प ५७४६ नम्बर भएको १५० सिसी पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार ०९:३७