१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र


२५ माघ, सुर्खेत। जाजरकोट भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ । प्रदेश सरकारको रु ५० लाख र कर्णाली बायो इनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रकमसहित निर्माण थालिएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७७/७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भएपनि त्यहाँ जैविक मल तथा जैविक बिसादी उत्पादन गर्न भैँसी पालन गर्नुपर्ने भएपनि अहिले सम्मा सो काम हुन सकेको छैन । भेरी करिडोरका साथै मध्यपहाडी लोक मार्गको बीचमा रहेको उक्त ठाउँमा कर्णाली प्रदेश सरकारबाट अनुदान ल्याएर संरचना निर्माण गरेर अहिले अलपत्र अवस्थामा रहेको छ ।

भौतिक संरचना भित्र भैँसी पालन गरेर जैविक मल उत्पादन गर्ने लक्ष्यबीचमै तुहिएको छ । प्रदेश सरकारले भेरी नगरपालिकामार्फत् उपलब्ध गराएको ५० लाख रुपैयाँमा काम कम गरेको भन्दै नगरपालिकाले ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ । बाँकी प्रालिले आफैँले व्यवस्थापन गरेर भैँसी पालन गरी जैविक मल तथा विषादी उत्पादन गर्नुपर्ने लक्ष्य भएपनि अनुदानको रकम मात्र प्रयोग गरेर बाँकी लगानी नै नगरी बीचमै छाडेको देखिन्छ । लाखौँ रकम राज्यको अनुदानको नाममा ल्याएर तोकिएको काम सम्पन्न नगरी बीचमै छोडदा आर्थिक हानी हुनुका साथै उदेश्य समेत पुरा नहुँदा समस्य हुने गरेको छ ।

अनुदानका लागि मात्र बिभिन्न कम्पनी खोल्ने कामले श्रमजिवी कृषकहरु मारमा परेका छन् । पहुँचको भरमा ल्याइएका यस्ता खालका अनुदानको अनुगमण तथा निरीक्षण गर्ने निकाय समेत मौन बस्नुले रकम झ्याम पार्ने परिपार्टी मौलाएको कृषकहरुको भनाइ छ । संरचाभित्र हप्ता दिनसम्म मात्र भैँसी राखेर रकम भुक्तानी गरेको प्रालिका नजिकै घर भएका स्थानीयवासीहरू बताउँछन् ।

अहिले सो संरचनाभित्र केही पनि नभएको अवस्था छ । यता भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपार्टी मौलाउँदै गएको बताए । ‘सधैँ निगरानी गर्न सकिँदैन, हामीले जिम्मा लगाएपछि किसानले आफैँले सक्रिया भएर कम गर्ने हो,’ उनले भने । उता कम्पनीका मानबहादुर रोकायले साथीहरुले धोका दिएका कारण कुदुमा काम गर्न नसकिएका बताए ।

अहिले सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा शाखा सञ्चालन गरेर काम गरिरहेको उनको दाबी छ । जाजरकोटको कुदुमा काम गर्न सकिएन भन्दै स्वीकार गरे ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १२:४०