१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एडिलेडमा सोनाम ल्होछार महोत्सव हुदै


१६ माघ, अष्ट्रेलिया । एडिलेडमा तामाङ सोसाइटी साउथ अष्ट्रेलियाले बाघ वर्षलाई बिदाइ गरी विरालो वर्षलाई स्वागत गर्दै परम्परा अनुसार मनाईने सोनाम ल्होछार पर्व उपल्यक्षमा सोनाम ल्होछार महोत्सव फ्रेव्रुअरि ५ मा आयोजना गर्ने भएको छ । चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेको छ ।

सोसाइटीमा साउथ अष्ट्रेलिया अध्यक्ष पाल्देन लामाले तामाङ संस्कृति सहित नेपालमा विविध भाषा भाषीका सांस्कृतिक झल्को महोत्सवले दिने बताए । सोसाइटीले २०१३ देखी एडिलेडमा सोनाम ल्होछार मनाउदै आएको छ । लामाले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

साउथ अष्ट्रेलिया सरकारका बहुसांस्कृतिक मन्त्री जो बेटिसनको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पुर्व मन्त्री तथा विपक्षी दलकी उपनेता जिङ ली सहित स्थानिय काउन्सिलका मेयरहरुको आतिथ्य रहने अध्यक्ष लामाले बताए । त्यसै गरि साउथ अष्ट्रेलियाका नेपाली समुदायका अगुवाहरु सहित अन्य राज्यमा तामाङ सोसाईटीका अगुवाहरुको पनि उपस्थिती रहने भएको छ ।

मञ्जुश्री पात्रोअनुसार गत जनवरी २२बाट बाघ वर्ष पूरा गरी विरालो वर्ष प्रवेश गरेको छ । । यो २८५९ औ सोनाम ल्होछार हो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । नेपालमा बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ |

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आˆना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार २०:२०