६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

रवि लामिछानेले लिए नेपाली नागरिकता


१५ माघ, काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पुन: नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पद गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएन । लामिछाने गत मंसिरर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १४:१५