८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ निष्कासन


१५ माघ, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ दरका ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । जारी गर्ने कुल कित्तामध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिकाको वडा नम्बर ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता, प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नम्बर १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर विक्री गरेको छ ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरिनेछ ।

जसमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ २९ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ २९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलहरु, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले भने आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १०:१२