१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पर्यटन दिवसका अवसरमा महिलाद्वारा सचेतनामूलक मोटरसाइकल यात्रा सम्पन्न


११ असोज,काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा महिलाको एक समूहले आज सचेतनामूलक मोटरसाइकल यात्रा सम्पन्न गरेको छ ।
नासा नेपालको आयोजनामा भक्तपुरको सानोठिमीदेखि शुरु गरिएको उक्त यात्रा काठमाडौँको नेपाल पर्यटन बोर्डको कार्यालयमा पुगी समापन भएको थियो । यात्रामा करीब ५० जनाको सहभागिता थियो ।

सुन्दर, शान्त तथा पर्यटकीय मुलुक नेपाललाई विश्वसामु परिचित गराउनु अहिलेको आवश्यकता रहेको बताउँदै सहभागीले नेपालको आर्थिक उन्नतिको मुख्य पक्षका रुपमा रहेको पर्यटन विकास गर्न सके देशमा लाखौँ नेपाली युवालाई रोजगारीको वातावरण सिर्जना हुने औँल्याए ।
समृद्ध राष्ट्र निर्माणको अभिन्न अंगको रुपमा रहेको पर्यटनको विकासको लक्ष्य राख्दै वर्तमान सरकार सन् २०२० सम्ममा २० लाख पर्यटन भित्र्याउने योजनाका साथ अघि बढिरहेको छ ।

बाजागाजासहित स्वागत गरिएको उक्त यात्रालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले स्वागत गर्दै सवारी प्रयोगकर्ताले सवारी साधन चलाउँदा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । आयोजक समितिका संयोजक सञ्जु बज्राचार्यले महिला पुरुष मोटरसाइकल तथा प्रविधिमा समान रहेको र सञ्चालनमा दक्षतासमेत समान भएको जिकिर गर्नुभयो । उहाँले आगामी दिनमा महिलालाई मोटरसाइकल चलाउन आवश्यक पर्ने तालीमको समेत व्यवस्था गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहीबार १९:१२