१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छ : उपाध्यक्ष नेम्बाङ


१४ माघ, काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् । एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’ मा उनले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइ पुर्याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पुर्याउने धारणा राखे ।

उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा छ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताए । उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ/दश वर्षमा भत्कने अवस्था नरहेको बताए ।

“जनताले जनताका निम्ति बनाएको संविधान हो”, उनले भने, “यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ/दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।” उनले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताए ।

अर्का उपाध्यक्ष युवराज ज्ञवालीले सहिदको बलिदानले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए । उनले राजनीतिक क्रान्ति सम्पन्न भए पनि आर्थिक, सामाजिक क्रान्ति बाँकी रहेको उल्लेख गरे ।

महासचिव शङ्कर पोखरेलले राजनीतिक दुष्चक्र फेरि पनि कायम गर्न खोजिएको आशङ्का गर्नुभयो । “मुलुकमा फेरि पनि राजनीतिक अस्थिरताका खेल भइरहेका छन्”, उनले भने, “त्यसप्रति एमाले गम्भीर रहेको छ । एमाले अस्थिरताको खेललाई समाधान गर्न दृढ रहेको छ ।”

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार १७:५३