७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बिबाह सन्तुष्टि की सन्तानका लागि ? (कथा)


–तीर्थ सिग्देल

जीवनको गति जसोतसो अघि बढ्दै हुन्छ । मान्छे हो, मान्छेको जुनी लिएपछि मानवीय कर्म त गर्नै पर्छ । तर, मान्छे संसारकै उत्कृष्ट र ज्ञानी जात हो, मान्छेहरु नै भन्छन् । सर्वोत्कृष्ट प्राणी हो ।

आज फेरि आमाले बिहे गर भन्नुभयो । बिहेको कुरा गर्ने बित्तिकै मेरो अनुहार हेर्न लायकको हुन्छ । के बिहे गर्नै पर्छ र ? विवाह किन गर्ने ? केका लागि गर्ने ? सन्तानका लागि की सन्तुष्टिका लागि ?

आमालाई नातीको मुख हेरेर मर्न मन छ । दिदी कराउँछे । बैनी भुतभुतिन्छे ।

भन्छे– दादा हजुर त के हो ? अब पनि बिहे नगर्ने ?

मसँग जवाफ छैन । जवाफ के दिउँ म ? किनभने विवाहको अर्थ र परिभाषा के हो र यसको काम, कर्तव्य, अधिकार र परिभाषा के हो ? कसैले न बताउन सकेको छ । न कसैले यस शब्दको अर्थ खोज्ने प्रयास गरेको छ ।

यो कुराको चुरो खोतल्न खोज्ने हो भने मान्छेहरु अल्मलिएलान् । तर, मलाई केही फरक परेको छैन । बिहे गर्दा र नगर्दा बीचको अन्तर खोज्न मैले प्रयत्न पनि गरेको छैन । बरु अरुले यसो गरेका छन् ।

आज फेरि दाजु कराउँछ । अए… कान्छा तैले त हाम्रो बंश र परम्पराको धज्जी उडाइस् । अब तेरो बिहे नगरिदिइ नै भएन ।

ऊ निरुत्तरित हुन्छ, बोल्दैन ।

के तँ बिहे नै गर्दैनस् त ? ठुल्दाइले कडा स्वर निकाले ।

म जवाफ दिन सक्दिन । सक्दिन त के भन्नु मलाइ जवाफ दिनु पनि छैन । किनभने मलाई कुनै परम्पराभन्दा पनि जीवनको गति अघि बढाउनु छ ।

जीवनरुपि यात्रामा अब्बल बन्नु छ । उनीहरु केबल स्वार्थको कुरा गर्छन् ।

आ–आफ्नो फाइदाको कुरा गर्छन् । आमालाई नातीको मुख हेर्नु छ । दाजुलाई घर जिम्मा लगाउनु छ । बैनीलाई दाजुको बिहे भए मेरो पालो आउँथ्यो भन्ने छ ।

भाउजु बाहिर मुखले ठिक्क मात्र पार्ने हुन् । उनी एकछिनमा एउटा कुरा गर्छिन् र एकै छिनमा अर्को कुरा गर्छिन् । उनी भित्रभित्र कुरा मात्र काट्छिन् । दाजुलाई उकास्ने उनै हुन् ।

मेरो बिहे भए एक्ली आमालाई छोडेर बाहिरै बस्ने दाजु भाउजुको इच्छा छ । अंश लिएर जाने मन छ, दुवैको ।

बुबाले अत्यन्तै दुःख गरेर कमाएको सम्पत्तिमा भाउजुले आँखा लगाएकी छिन् । बिचरा बुबाले अकालमै जीवन गुमाउनुभयो । दाजुलेसम्म अलिअलि बुबाको माया पाउनु भयो होला ।

म सानै थिएँ । बुबा बित्नु भयो । आमाले त्यस पछिको एक्लो जीवन दुःखले बिताउनु भयो ।

दाजु त बाहिर पढ्न गैहाले । दाजुलाई पढ्न पठाउँदाको दुःख कसले सम्झेको छ र ? सबैले बिर्सिसके । आज त्यो कुरा निकाल्यो भने सबैले बौलाहा बनाउँछन् ।

खासमा भन्ने हो भने मैले पढ्न नपाएको पनि दाजुकै कारणले हो । उनका लागि घरको काम गर्दागर्दा मैले पढ्न नै पाइन । खासमा मेरो ध्यान पढाइमा भन्दा पनि काम धन्दामा बढी गयो ।

म परिबन्दमा परें । त्योभन्दा पनि मैले आफ्नो कर्तब्य बढी सम्झें । मैले बुबाको दुःख सम्झें । आमाको वचनको ख्याल गरें । दाजुको कुरालाई मानें । आज तीनै मान्छेहरु एकतिर लागेर मेरो कुरा काट्छन् ।

दाजुलाई पढ्नलाई महिनामा १५ हजार भन्दा बढी खर्च लाग्थ्यो । त्यो पैसा कहाँबाट जुटाउनु पर्ने हो ?

कसैलाई चिन्ता थिएन । साँच्चै भन्ने हो भने मैले एउटा राम्रो लुगा पनि लगाउन पाइन । के दशैं, के तिहार ? के अरु दिन ? मेरा लागि सबै दिन उस्तै भए ।

अरुलाई पुर्‍याउदा पुर्‍याउँदैमा मेरो हालत हुन्थ्यो । अरुका इच्छा र चाहनाका अगाडि मेरा सबै चाहनाहरु फिक्का साबित भए । त्यसमाथि आमा बिरामी… हप्तैपिच्छे अस्पताल पुर्‍याउनु पर्ने हुन्छ ।

घरका अरु कसैको कुनै आम्दानीको बाटो थिएन । भाउजु पनि उस्तै एक पैसा निकाल्दैन थिइन् । आफ्ना इच्छा पूरा गरौं त अरु नाङ्गै, अरुका आवश्यकता पूरा गरौं आफू बुच्चै हुनु पर्ने अवस्था थियो ।

अनि, फेरि पनि मलाई बिहे गर भन्न छाड्दैनन् । त्यसमा सबैको स्वार्थ जोडिएको छ । भाउजु मेरो बिहे भएमा घरबाट निक्लिन चाहन्छिन् । घर छाडेर सहरतिरै बस्न चाहन्छिन् । दाजु निरीह छन् । भाउजुको अगाडि चुँ सम्म बोल्दैनन् ।

के बिहे गर्नै पर्छ र ?

आज संसारमा बिहे नगरी बस्ने मान्छे छैनन् र ?

आज मलाई के भो कोनी ? एकदमै टाउको दुखेर आएको छ । टाउको दुख्नुको पनि हद हुन्छ नी । हुन त जुनसुकै रोग लागे पनि पीडा उस्तै हुँदो रहेछ ।

अस्ति भर्खरै आमा बिरामी पर्नु भयो । रातदिन अस्पतालमा बस्दाको पीडा छुट्टै थियो । आफूले पढ्न नपाउँदाको पीडा अलग्गै खालको छ ।

सँगै पढेको साथी पोहोरको दशैंमा घर आउँदा कार चढेर आयो । मेरै उमेरको भएर पनि ऊ कति भर्खरको देखिएको ? मान्छेलाई समयले कति परिवर्तित गराउँदो रहेछ ।

त्यो साथीको छोरो पनि ठूलो भैसकेछ । उसले अंकल भनेर बोलायो मलाई । मलाई कस्तो कस्तो भो ।
***
कालो चस्मा । टल फिगर । गोरो अनुहार । परबाट एउटी केटी ट्रली ब्याग बोकेर म तिर नै आउँदैछे । म यसो घर पछाडिको बाटोमा सामान्य काम गरिरहेको छु ।

अचानक त्यो केटी बोली…सिस्ने गाउँ यही होइन ?

मैले उतातिर राम्ररी हेर्न पनि नभ्याई भने– ‘हो त । कसकोमा जान खोज्नु भएको ?’

उसले भनि, ‘थाहा छैन । कसकोमा हो ।’

म तीन छक्क परें ।

मनमनै भनें– ‘कस्ती केटी रैछ । कहाँ जाने ? कसकोमा जाने भन्ने थाहा नभइ पनि कोही कतै जान्छ र ?’

अनी एकछिनमा फेरि सोचें– ‘कही जान खोजेकी पनि त हुन सक्छ नी । मान्छेको नाम बिर्सेर पनि त हुन पनि सक्छ !’

फेरि ऊ बोली– ‘बस्नेत साल्दाईको घर यतै कतै थियो । तपाईलाई थाहा छ ?’

मैले जवाफ फकाएँ– ‘ए…उनीहरु त यहाँबाट बसाई गएको वषौं भइसक्यो ।’

किन उहाँलाई भेट्न पर्ने थियो ? अब तल शहरतिरै जानुपर्छ होला उहाँलाई भेट्न त ।

उसले भनि– ‘हैन हैन … केही छैन । भेट नभए पनि केही छैन ।’

त्यसपछि ऊ अघि लागि । म भने उसको पिच्छा गर्न थालेँ ।

अलिपर पुगेपछि म अगाडि पुगें । त्यताबाट म घरतिर लागेँ । अलिपर पुगेर यसो फर्केर हेर्दा त त्यो केटी यतैतिर आउँदै रहिछ ।

अनि मैले भने, ‘अब कता जाने ?’

उसले जवाफ फर्काई, ‘खोई थाहा छैन । कहाँ जाने हो । शायद यतै कतैतिर हुन सक्छ ।’

मैले उसको कुरा बुझिन । त्यत्तिकैमा म आँगनमा पुगें । ऊ पछिपछि रहिछ ।

घरमा पुगेपछि उसले हाम्री आमालाई नमस्कार गरी । म अब भने तीन हैन, सात छक्क नै परें ! अचम्म यो केटीले मेरी आमालाई नमस्कार पो गरी । फेरि आमाले पनि यसलाई एक हेराइमै चिन्नु भो । यो कसरी भयो । म अचम्मित भएँ ।

संयोग पनि कस्तो कस्तो । जसलाई पराई ठान्यो । ऊ आफ्नो बन्दो रहेछ । तर, जसलाई आफ्नो ठानेको हुन्छ, उसले कहिले पनि आफ्नो ठान्दैन

अनि, आमाले भन्नुभयो, ‘बिपना, तिमी ! कहाँबाट आइपुग्यौ ?’

‘हेर कत्री भइछ । हेर, मैले तिमीलाई कसरी चिने भन त ?’, उल्टै आमाले यस्तो प्रश्न पो गर्नुभयो ।

पछि आमाले उसलाई चिनाउँदा मात्र मैले उसलाई चिनें । ऊ त म सानो हुँदाको साथी पो रहिछे । त्यसपछि भने मलाई लाज लागेर आयो । के गर्ने, कसो गर्ने भयो । सोचेँ, ‘यो केटी त कति राम्री भइछ ।’

बसाइँ सरेर ऊ पढ्न काठमाडौं गइछ । त्यहाँबाट प्लस टु सकेपछि ऊ पढ्न अष्ट्रेलिया गइछ । त्यहाँबाट पढाइ सकेर केही वर्ष उसले काठमाडौंमा जागिर खाइछ । त्यसपछि ऊ क्यानाडामा सेटल भइछ । त्यहाँ बस्दै गएपछि उसका बाबुआमाले बिहेका लागि कचकच गर्न थालेछन् । बाबुआमाको कुरा टार्न सककेपछि ऊ भौतारिँदै यहाँ आइपुगेकी रहिछ ।

उसले भनेको, मलाई ऊ सधैँ सम्झिन्थी रे । कतिपटकसम्म फेसबुकमा उसले मलाई खोजी रे । बिचरीलाई के थाहा मैले फेसबुक चलाउन नै जानेको थिइन भन्ने कुरा । त्योभन्दा पनि यो गाउँमा न नेपाल टेलिकमको न एनसेलको टावर टिप्थ्यो ।

उसले तत्कालै मोबाइलबाट मेरो फोटो खिची । म तनक्क तन्किँए । उसले मेरो सर्टको कलर मिलाई दिई । म केही पर सरें । ऊ झन् नजिक आई । ऊ पटक्कै लजाइन । बरु मलाई नै कस्तो कस्तो लागेर आयो ।

उसले मेरो फेसबुक आइडी पनि बनाइदिइ । उतैबाट ल्याएको एउटा मोबाइल निकाली र भनि– ‘लौ लेउ, यो तिम्रो मोबाइल हो ।’
उसले त्यहीँ मोबाइलमा अनेक कुरा देखाई । म छक्क परें ।

उसले हामी स्कूल पढ्न जाँदा राई बुढाको स्टुडियोमा खिचेको फोटो पनि त्यहीँ उसको मोबाइलमा देखाई । उसले विश्वको नयाँनयाँ प्रबिधिका बारेमा धेरै कुरा बताई ।
***
त्यसपछि ऊ केही दिन हराई । एक दुई दिनमा ऊ फेरि आई । र, आमालाई भनिछ– ‘म उसँग बिहे गर्न चाहन्छु ।’

आमा त अचम्ममा पर्नु भएछ । साह्रै जिद्दी गरिछे । त्यसपछि आमाले नाई भन्न सक्नु भएनछ ।

उसको जीवनमा पहिलो पटक खुशीको सञ्चार भयो ।

अहिले ऊ क्यानडामा छ । बिपनाले उसलाई विवेह गरेर उतै लगी । त्यहाँ पुगेपछिका केही दिनपछि उसले फेसबुकमा यस्तो स्टाटस लेख्यो– ‘संयोग पनि कस्तो कस्तो । जसलाई पराई ठान्यो । ऊ आफ्नो बन्दो रहेछ । तर, जसलाई आफ्नो ठानेको हुन्छ, उसले कहिले पनि आफ्नो ठान्दैन ।’

(कथाकार सिग्देल झापामा रहेर पत्रकारिता र साहित्यमा क्रियाशिल रहेका छन ।)

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १७:२१