१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को ? यी चार नेता मध्येबाट उम्मेदवार छान्ने ओलीको तयारी


११ माघ, काठमाडाैँ । नेकपा एमालेले चार नेताहरूको बीचबाट राष्ट्रपतिको टुंगो लगाउने भएको छ । एमाले अध्यक्ष निकट स्रोतका अनुसार अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य गुरू बराल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेललाई चार नेताको बीचमा सहमति गरेर राष्ट्रपतिको उम्मेदवार बनाउने संकेत गरेका छन ।

वरिष्ठ उपाध्यक्ष काठमाडौँ ५ बाट प्रतिनिधिसभामा पराजित भएका नेता हुन । त्यस्तै उपमहासचिव रिमाल संसदीय मोर्चाको कुनै पनि चुनावमा प्रत्यक्ष रूपमा लडेका छैनन् । स्थायी कमिटी सदस्य बराल गत राष्ट्रियसभा निर्वाचनमा पराजित भएका नेता हुन । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री पौडेलले पछिल्लो कुनै पनि चुनाव लडेनन् ।

अध्यक्ष ओलीले नै चार नेता मध्येको बीचबाट सहमति खोज्नु भन्ने आशयको सन्देश दिएपछि नेताहरूले आफ्नो पक्षको लबिङ तीव्र पारेका छन । नेकपा एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार आकांक्षीहरू मध्ये उपमहासचिव विष्णु रिमालको बाहिर देखिने दौड छैन  तर बाँकी तीनले अन्य नेताहरू मार्फत लबिङ बढाएका छन ।

एमालेका अर्का एक स्थायी कमिटी सदस्यले भने चार नेताको एकल सिफारिसमा अध्यक्ष केपी शर्मा ओली वा गोमा देवकोटा मध्ये एक उम्मेदवार हुने सम्भावना पनि उत्तिकै रहेको बताए । यद्यपी ओलीले भने आफ्नो क्रियाशिल राजनीतिमा अहिले नै ब्रेक लगाउन चाहेका छैनन् । उनले नेकपा एमालेको नेतृत्वको एकल बहुमतको सरकार चलाउने सपनाका विषयमा नेताहरूसँग चर्चा गर्ने गरेका छन ।

पछिल्लो दशक एमाले अध्यक्ष ओलीलाई सशक्त बनाउनका लागि रिमालले महत्वपूर्ण व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएका छन । रिमाल ओलीको आँखाको भाका टिप्न सक्ने मध्येका एक हुन । जसका कारण कतिपयले रिमाललाई ओलीमाथि घेराबन्दी गरेको भनेर आरोप समते लगाउने गरेका छन । एमालेको अध्यक्ष ओली निर्वाचित भएयता रिमालले आर्थिक विभागको प्रमुख भएर काम गर्दै आएका छन । ओली प्रधानमन्त्री हुँदा दुबै पटक प्रधानमन्त्रीको सल्लाहकार भएका रिमाल ट्रेड युनियन अभियानबाट राजनीतिमा स्थापति भएका नेता हुन ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार २१:२८