८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नागरिक लुट्ने शासकहरूका लागि प्रेमप्रसाद आचार्यहरूले कहिलेसम्म आत्मदाह गरिदिनुपर्ने ?


-सरोजकुमार तामाङ

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरेर बाहिरिँदा उनकै सवारीको अघि नयाँ बानेश्वरस्थित संसद भवनबाहिर इलाम निवासी एकजना उद्यमी प्रेमप्रसाद आचार्य सन्तोषले आत्मदाह गरे । राष्ट्र र राष्ट्रियताको नाममा प्रधानमन्त्रीले औपचारिकताको फोस्रा गफ संसदमा प्रस्तुत गरिरहदाँ बाहिर नागरिक यसरी दिनडाहै आगोमा जल्नुपर्ने, यो मुलुकमा कसैले व्यापार व्यावसाय गरेको खण्डमा आफ्नै घाँटीमा ऋणको पासो थाप्नु हो भन्ने प्रमाणित हुन्छ ।

जति मेहनेत गरेपनि खान नपुग्ने यो दलाल नोकरशाही पुँजीवादी व्यवस्थामा दिनप्रतिदिन नेपाली जनताले स्वाभिमानको पसिना बगाउनु भनेको वैदेशिक एकाधिकार पुँजीवाद, साम्राज्यवाद र निगम पुँजीवादको असली घोडा बन्दैँ आफू नांङ्गिदै जानु हो । यहाँ आत्मनिर्भरको निम्ति आफ्नै मुलुकको स्रोतसाधनलाई प्रयोग गरेर व्यापार व्यावसाय गर्दा गरिब र ऋणी भइन्छ । तर, विदेशी शक्ति मुलुकहरुको चाकडी र चाप्लुसी गरेको खण्डमा बिना लगानी रातारात करोडपति भइन्छ ।

मुलुकलाई टाँठ पल्टाएर खुसीमा रम्नेहरुलाई जबसम्म राज्यको निर्णायक तहहरुबाट लखेट्टिन्न तबसम्म न यहाँ रोजगारी सृजना हुन्छ न त मुलुकलाई आत्मनिर्भरको मार्गतर्फ उन्मुख गराउन राष्ट्रिय औद्योगिक पुँजीको निर्माण नै हुन दिन्छ । विकासका ठूल्ठूला परियोजनाहरु ल्याएर कायाकल्प गर्छु भन्नेहरु अन्तत: ती विकासे योजनाहरुलाई समयमै पुरा गर्न छाडेर म्याद थप्दै मुलुकलाई एकपछि अर्को गर्दै लुटिरहेको देख्दा देख्दै पनि हाम्रा जनमतले शासन सत्ता समाल्नेहरु कानमा तेल हालेर सुनेपनि नसुने झैं मुख मोडेर जनजिविकाका सवालहरुदेखि टाढिन खोज्छ ।

व्यवस्था परिवर्तन गर्न जनता आन्दोलन र बिद्रोहको क्रममा मर्नुपर्ने, घाईते, अपांङ्ग र वेपत्ता हुनुपर्ने; यसरी जनताको त्याग र तपस्याबाट ल्याइएका व्यवस्थामा सत्तासीन हुन जनताकै मत चाहिने र त्यो व्यवस्थालाई जिवितै राख्न रातदिन खाईनखाई कर, तिरो, भन्सार, अन्तशुल्क, भ्याट, राजस्व भर्नुपर्ने तर बदलामा जनताले पिडा र दुखकष्ट मात्र सहनुपर्ने यो कस्तो शासन व्यवस्था हो ? जनशासन भनिने लोकतन्त्रमा एकपछि अर्को गर्दै मुलुक र जनता नांङ्गिदैँ जाने वातावरण किन तय हुँदैछ ?

आफ्नो पौरखमा गौरव गर्ने अनि मुुलुकको अर्थतन्त्रलाई स्वाधीनतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निम्न, मध्यम र राष्ट्रिय पुँजीपतिवर्गहरुलाई राज्यले संरक्षण गर्ने कि मुलुकलाई लुट्दै जाने दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादहरुलाई काखी च्याँप्दै जाने हो ? दासत्व, उत्पीडन र सबैखाले विभेदहरुको बिरुद्ध लडेर ल्याइएको व्यवस्थामा झन धेरै जनता र मुलुक लुटिदैँ जान्छ भने हामीले यो बुझ्न ढिलो गर्नु हुँदैन कि शोषणको रुप मात्र फेरिएको हो तर शोषणप्रथा भने जिवित्तै रहेको छ ।

पाइलैपिच्छे विचौलिया, दलाल, तस्कर र माफियाहरुले जनतालाई लुटदाँसम्म जनताको भनिने सरकारले चाल नपाउने हो भने पक्कैपनि यो जनमतले बनिएको सरकार भएपनि उनीहरुलाई लुट्नको लागि नेपालको निमय कानूनमा छुट छ भन्नु हो । त्यसैले हामी कम्युनिष्टहरुलाई मार्क्सवादले के भनेको छ भने राजनीतिक रुपले हामी स्वतन्त्र भएपनि आर्थिक रुपले जबसम्म स्वतन्त्र हुनसक्दैनौं तबसम्म शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार लगायत समाजमा देखिएका सम्पूर्ण विभेदहरुका आधार र अवशेषहरु भत्काउन सक्दैनौं ।

आज हामीलाई समाजको बारेम बोल्न, लेख्न, संगठित हुन र आफ्नो अभिव्यक्तिहरु सम्प्रेषण गर्न स्वतन्त्र छ तर आर्थिक हिसाबले हामी स्वतन्त्र छैनौं । अर्थतन्त्र स्वाधीन होइन, पराधीन छ । जनतालाई मुलुकमा होइन, पराई मुलुकमा रोजगारी छ । नेताहरुले जनताको समस्या समाधान होइन, साम्राज्यवादीहरुको चाकडी गर्छ । सरकार यहाँ बनाउँछ तर नीति निर्माण उनीहरुको हितमा गर्छ । जनतालाई भोकानांङ्गा बनाएर वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादका घरेलु एजेन्टहरुलाई पक्षपोषण गर्छ । जनमतको स्वामित्व प्रभूको पाउमा लगेर चढाउँछ ।

जनताले तिरेको कर, तिरो, राजस्व, भ्याट अन्त:शुल्क लगायत सम्पूर्ण आर्थिक दायित्वहरु व्यापारको नाउमा त्यही दलाल नोकरशाही पुँजीपतिवर्गलाई छुट दिन्छ । समानताको शासन व्यवस्थामा असमानताको पुल हाल्ने कोशिस गर्छ । त्यसका निम्ति अब फेरी एकजुट हुँदै आफ्नो आर्थिक स्वतन्त्रको लागि लड्नु पर्नेछ । अब हामी हाम्रैलागि लडौं ।

हामी त लुटियाैँ लुटियाैँ तर हाम्रा भावी सन्ततीहरुपनि हामी जस्तै लुटिदैँ जाने नहोस् । हाम्रो मुलुकको प्रकृति स्रोतसाधनहरु लगायत सम्पूर्ण आर्थिक गतिविधिहरु हाम्रो स्वामित्वभित्र ल्याउनुछ । आजको उपभोक्तामुखी समाजलाई उत्पादनसँग जोड्न आफुभित्र रहेका सीप, क्षमता र दक्षतालाई प्रयोग गर्न राज्यले जनपक्षीय नीति निर्माण गरौं । तर, यस्ता मिश्नित निर्वाचन प्रणालीलाई अंगालेर त्यो सम्भव छैन् किनकी कसैको पनि बहुमत नआउने निर्वाचन प्रणाली नै लुट्ने मूल प्रवेशद्धार हो । लुटुवाहरुले रम्ने निर्वाचन प्रणालीको खारेज गर्दै आमजनतालाई सुख र मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने अभियानमा सरिक हौं । लुट्न बाँकी केहिपनि छैन् । लुट्नलाई जरा गाडेर बसेकाहरुलाई गाउँगाउँ, शहरशहरबाट लखेटौं । हाम्रा समाजमा हामीलाई नै लुटेर बस्ने छुट यिनीहरुलाई छैन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १२:३०