१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित


१० माघ, कर्णाली । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् ।

उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले राससलाई जानकारी दिए।

“नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्राही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “चिसोबाट बच्ने उपायबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।” हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताउनुभयो । “हुम्लाको आजको तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्राही एकजना पनि आएका छैनन् ।” हिमपातकै कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदी जनाए ।

चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसान हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताए ।

हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन् । चन्दननाथ नगरपालिका–३ जुम्लाका मन्नु बुढ्थापाले हिमपातले बढेको चिसोका कारण स्थानीयलाई हिँडडुल गर्न र पशु चौपायालाई दाना पानी दिन भने समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको जानकारी दिए । हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुढ्थापाले बताए ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १९:५४