१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सांसद महतो दोषी भए पक्राउ गर्नुस्‚ एमालेबाट बाधा हुन्न तर प्रमाणित नभई अपराधी भन्न मिल्दैन


१० माघ, काठमाडाैं । एमाले सचिव एवं सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी दोषी भए पक्राउ गर्न आग्रह गरेका छन् । उनले महतोलाई पक्राउ नगरेको विषयलाई एमालेसँग नजोड्न आग्रह समेत गरेका छन् ।

महासेठले प्रतिनिधिसभाको मंगलबार बसेकाे बैठकमा बोल्दै लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन समेत अनुरोध गरे ।

‘मन परेन कि अपराधी भन्ने ?’ महासेठले भने, ‘३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो । ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको मुद्दा अहिलेको होइन, सात वर्षभन्दा बढी भइसक्यो सशस्त्र प्रहरीका असईको हत्या भएको । पहिलेको सरकारले उहाँलाई समात्ने काम किन गरेन ? समात्ने त परै जाओस् उहाँलाई सम्मान गर्ने काम भएको थियो । मन्त्रिमण्डलबाट सिफारिस भएर राष्ट्रपतिबाट घोषणा भएको लिष्टमा उहाँको नाम थियो ।’

उनले भने, लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृहमन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’

उनले महताे लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने समेत बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १४:५०