१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

पत्रकारिताको अनुभवले लेखक बनायोः तीर्थ सिग्देल, लेखक


तपाई कस्तो लेखक हो ? यस पटकको पुस्तकमा त्यस्ता के बिषय समेटिएका छन् ?

कुनै पनि कामको अनुभवले नयाँ नयाँ सम्भावनाको ढोका खोल्छ । त्यसले कामले जव सफल रुप लिन्छ, तब आएर एउटा यात्रा तय गर्दछ । यो भनाईलाई आत्मसात गर्ने हो भने मैले आजसम्म गरेका कामले अगाडि बढिरहन प्रेरित मात्र गरेको छैन, खासमा खोज र अनुसन्धानमा आधारित भएर लेख्ने बाताबरण बनेको छ ।
यस पटक बजारमा आएको यो पूर्वको राजनीति नामक पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरुलाई समेटेको छु । यस बिषयलाई जहिल्यै पनि बेवास्ता गरियो । राजनीतिको चक्रमा परेर ती ऐतिहासिक तथ्य र घटनाक्रमहरु बिलाउँदै गएका छन् । मैले यस पुस्तकमा ती तथ्यहरुको खोजी गरेर पस्किने काम गरेको छु ।

तपाई त एउटा पत्रकार मान्छे । यस्तो लेखनमा कसरी ध्यान गयो ?

हो, मेरो बदलिँदो परिचयले एउटा लेखकको रुप लिँदैछ । २५ बर्षको पत्रकारिता जीवनको अनुभवले एउटा लेखक जन्मियो भन्दा पनि हुन्छ ।
पत्रकार हुन मात्र त सजिलो होला, तर पत्रकारिता पेशामा मात्र चित्त बुझाएर बस्न गाह्रो हुन्छ । शायद म त्यस्तै पत्रकार हुनसक्छु, जसले रिपोर्टिंग गरेर मात्र बस्न चाहेन ।

जुन कुरा दैनिक रिर्पोट गरें, त्यसबाट बचेका कुरालाई नयाँ रुप दिएँ, यस पुस्तकको रुपमा । एउटा क्रियाशील पत्रकारलाई लेखक बन्न सहज र सरल छ, तर एउटा बिशुद्ध लेखक पत्रकार हुन सक्दैन । यसमा मैले यही कोषिस गरेको छु ।

तपाईले यस अघि पनि अर्को पुस्तक निकाल्नु भो । काठमाडौं बाहिर बसेर लेख्ने र पुस्तक निकाल्न कति गाह्रो रहेछ नी ?

काठमाडौलाई मात्र कन्द्रित बनाएर लेख्नेहरु मात्र सफल हुन्छन् भन्ने छैन । अझ भन्ने हो भने आजसम्म जे जति लेखकहरुले आफुलाई सफलताको सिँडी चढाएका छन्, उनीहरुले उठाएका बिषय ग्रामीण परिबेश कै छन् । किनभने शहरमा लेख्ने बिषयहरु सक्किँदै मात्र गएका छैनन्, पूराना र बासी लाग्छन् । तर, त्यो ग्रामीण जन जीवन र परिबेशले नयाँ सम्भाबनाको खोजी गर्दछ । यसर्थ बाहिर त अझ धेरै लेखनको सम्भावना हुन्छ ।
अझ अब त मुलुक संघीयतामा गईसकेको छ । अब लेखन र साहित्य क्षेत्रले पनि संघीयताको अभ्यास गर्ने स्थिती तयार हुँदैछ ।
सबै क्षेत्रमा सघीयता आयो, तर लेखन क्षेत्रमा अहिलेसम्म छैन । किनभने शासन प्रणालीले लेखन क्षेत्रलाई संघीयताको अनुभुत गराउन सकेको छैन । तर, अब लेखन क्षेत्रले पनि संघीयताको अनुभुती गर्न पाउने कुरामा म बिश्वस्त छु ।

अब तपाईका पाइलाहरु लेखनतिर अगाडि बढेका हुन् त ?

पक्कै पनि । यस अघि मैले गत बर्ष आफ्नै अनुभवमा आधारित भएर एउटा पुस्तक लेखेको थिएँ – जीवनको गति नामको । त्यो पुस्तकले मलाई लेखकको रुपमा चिनाएन मात्र लेखिरहन हौसला पनि प्रदान गरेका छ ।

त्यसै पुस्तकमा पाएको सुझाव र सल्लाहले आफुले दोस्रो पुस्तक लेखेको हूँ । यस पूर्वको राजनीति नामको पुस्तकमा हालको १ नं प्रदेशको राजनीतिक घटनाक्रम समेटेको छु ।

यससँगै कथा सँग्रहको पनि तयारी छ । यो ०७५ सालको प्रारम्भमा नै बजारमा आउँछ –मनोनेट नामको ।

यो पुस्तक खासमा कसका लागि बढी लाभदायक छ त ?

हुनतः पढ्ने, लेख्ने भन्ने कुरा यसका लागि उसका लागि भन्ने त हुँदैन, तर बिषेशगरि यो पुस्तक राजनीतिसँग सम्बधित छ । खासगरि राजनीति गर्नेहरु, जसलाई यो पुस्तक अत्यावश्यक छ । किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस बिषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।

तसर्थ यो पुस्तकले त्यस्ता बिषयहरुलाई चित्रण गरेको छ, जसले उनीहरुलाई सहयोग गर्दछ । अझ एउटा यूवा पुस्ता, जो बिद्यार्थी छ । उसका लागि त यो पुस्तक शन्दर्भ सामाग्री बन्ने निश्चित छ । उसले पढेको त एउटा कोर्सबुक मात्र हो, तर यो पुस्तकले समेटेका ऐतिहासिक तथ्यहरु उनीहरुका लागि सहयोगी सामाग्री बन्न सक्छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार १६:५९