१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

`संस्कृति´ गहन अध्ययन सामग्री

-नन्दु उप्रेती

राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ, नेपाल नेपाली राजनीति र जनताको स्तरसम्म स्थापित सङ्गठन हो । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को जनवर्गीय सङ्गठनका रूपमा क्रियाशील   यस सङ्घले अङ्‌गिकार गर्ने नेकपा एमालेको सिद्धान्त र आफैले स्थापना गरेको पहिचानले यस सङ्गठनलाई राष्ट्रिय एवम् अन्तरराष्ट्रिय स्तरमा ब्यापक तुल्याएको छ । यसको स्थापना कालका नायकहरू मोदनाथ प्रश्रित, रघुजी पन्त, विजय सुब्बा लगायतले गरेको योगदानको धरोहर भएर कार्यरत यस सङ्गठनले आफूलाई कर्मशील विभिन्न क्षेत्रका प्रतिभा र कर्मवीरहरूलाई समेट्न सातवटा घटक सङ्घहरू समेत क्रियाशील गराएको छ । राष्ट्रिय जनसाहित्य सङ्घ नेपाल, राष्ट्रिय जनसङ्‌गीत कलाकार सङ्घ नेपाल, राष्ट्रिय जनपक्षीय चलचित्र कर्मी सङ्घ नेपाल, राष्ट्रिय नाट्यकर्मी सङ्घ नेपाल, राष्ट्रिय भाषा तथा लोक साहित्य सङ्घ नेपाल, राष्ट्रिय ललितकला सङ्घ नेपाल र राष्ट्रिय सांस्कृतिक सामाजिक अध्ययन सङ्घ नेपाल यस राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ, नेपालका घटक सङ्‌गठनहरू हुन् ।

प्रगतिशील प्रतिभा र पेसाका विभिन्न क्षेत्रमा व्यापक बनेको यस महासङ्‌घको मुखपत्र ‘संस्कृति-१३’ विचार, विश्लेषण र सिर्जनाको केन्द्रीय प्रकाशनका रूपमा (अङ्‌क १३, वि.सं.२०७९) महासङघको ३५औं वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको छ । महासङ्‌घका अध्यक्ष प्रेमनाथ अधिकारी संरक्षक रहेको यस प्रकाशन‌को प्रधान सम्पादक प्रा.डा. जीवेन्द्रदेव गिरी र सम्पादकहरूमा प्रा. केशव सुवेदी, राम विनय र आर. सी. न्यौपाने छन् भने प्रकाशक राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल प्रकाशन विभाग तथा जनसांस्कृतिक प्रतिष्ठान, नेपाल रहेका छन् ।

सैद्धान्तिक एवम् साहित्यिक विभिन्न विषयसँग सम्बन्धित ४८ लेख रचनाहरू सङ्‌ग्रहित यस मुखपत्रमा खासगरी साँस्कृतिक अभियानमा विचारको स्पष्टता, मार्क्सवादी सांस्कृतिक दृष्टिकोण, राजनीतिमा मार्क्सवाद, नेपाली अर्थतन्त्रको अवस्था, मार्क्सवादी साहित्य सिद्धान्त, प्रगतिवादी साहित्य सिर्जना सम्बन्धी धारणा, नेपाली समाज व्यवस्था र विभिन्न वर्गको अवस्था आदि बारे स्तरीय एवम् पठनीय लेखहरू एवम् कही साहित्यिक रचनाहरू समावेश भएका छन् । यी लेख रचनाहरूले जनवादी संस्कृतिमा ढुलमुले प्रवृति विकसित भइरहेको वर्तमान अवस्थालाई प्रष्ट्याउदै गम्भीर बहसको ढोकासमेत खोलेका छन् ।

  ‘संस्कृति’को यो १३औं अङ्‌क नेपालको वर्तमान राजनीतिक एवम् सांस्कृतिक अवस्थामा मार्क्सवादका अनुयायी चाहे   ती राज‌नीतिकर्मी हुन् या सांस्कृतिककर्मी हुन् या चाहे ती अन्य पेशामा संलग्न मानिसहरू हुन् सबैका लागि  महत्वपूर्ण पठन सामग्री बन्नसक्छ । उल्लेखित क्षेत्रमा आएका नयाँ पिँडीका लागि होस् या लामो कालखण्ड यसै वैचारिक क्षेत्रमा बिताएका अग्रजहरू हुन् सबैका लागि यो संकलन उत्कृष्ट पठन सामग्रीका रूपमा उत्तिकै महत्वपूर्ण छ र उत्तिकै आवश्यक पनि छ ।

 “हाम्रो सांस्कृतिक समृद्धि”  ‘संस्कृति १३’ को पहिलो लेख हो।यसलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विचारका रूपमा प्रतुत गरिएको छ । यस लेखले आफ्नो संस्कृतिको महत्व, गौरव र त्यसले स्थापित गर्ने मूल्य र मान्यता स्पष्ट गरेको छ । ज्ञानको सुरुवात भएको भूमि नेपाल हो भन्ने स्पष्ट गर्दै संसार नै ज्ञानबारे अन्धकारमा भइरहेको समयमा हाम्रा पुर्खाहरू विज्ञानका गहन विषयका तथ्य र सत्यहरू प्रमाणित गरिरहेको थिए भन्ने कुरा यस लेखमा उल्लेख भएको छ । आजका वैज्ञानिक आविस्कारहरूले प्रमाणित गरिए भनिएका तथ्यसत्यहरू आर्यभट्ट, धन्वन्तरी, चरक, चाणक्य, कपिलमुनिजस्ता असाधारण क्षमताका विद्वानहरूले धेरै नै पहिले संसार सामु राखिदिएको कुरा उल्लेख गरिएको छ ।

‘नेपालको अर्थतन्त्रको प्रवृत्ति र दिसा’ शिर्षक‌को लेखमा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको अर्थव्यवस्थाको इतिहास केलाउनुका साथै त्यसमा नेपालमा भएका राजनीतिक आन्दोलन र परिवर्तन, उर्जासंकट, नाकाबन्दी, महाभुकम्प, कोरोना आदिले पारेका प्रभावहरूको विश्लेषण गरिएको छ । यस लेखमा नेपालको अर्थतन्त्रको सुदृ‌ढिकरणका लागि भएका प्रयास र आगामी दिनमा गर्न सकिने कार्यहरूको आँकलन पनि गरिएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको लेखले नेकपा एमालेको वर्तमान अवस्थाको चर्चा गर्दै स्थानीय निर्वाचन २०७८ को परिणाम पछिको स्थितिलाई प्रस्ट्याउने जमर्को गरेको छ । केशव बडालको लेख ‘सहकारी संस्कृति र सिद्धान्त’मा सहकारी सञ्चालन‌मा ध्यानदिनु पर्ने कुराहरू, त्यसमा आउने समस्या र तिनको समाधानका बाटाहरू पहिल्याउने प्रयास भएको छ । ‘समाजवादको आधार निर्माणका निम्ति सांस्कृतिक क्षेत्रको अभिभारा’ लेखमा  प्रा. डा. जीवेन्द्रदेव गिरीद्वारा समाजवाद निर्माणका लागि सांस्कृतिक क्षेत्रको भूमिकाको बारेमा विश्लेषण गरिएको छ ।

यसको अवधारणा र सांस्कृतिक क्षेत्रबाट समाजवादको आधार निर्माणका लागि विगतमा भए गरेका कामहरूको चर्चा गरिएको छ । त्यसका साथै यस लेखमा सांस्कृतिक क्षेत्रबाट गर्न सकिने र णगर्नुपर्ने कामहरू पहिल्याउने प्रयास पनि भएको हो । ‘संस्कृति १३’मा सङ्‌ग्रहित अर्को गम्भीर एवम् महत्वपूर्ण लेखका रूपमा आर. सी. न्यौपानेको लेख रहेको छ । ‘मार्क्सवादी दृष्टिमा, उत्पादक शक्तिको रूपान्तरण प्रक्रिया र वर्गविश्लेषण’ शीर्षकको यो लेखमा मानव समाजको विकास प्रक्रियाको विश्लेषण गर्नुका साथै नेपाली समाजको वर्गसंरचना र वर्तमान नेपाली समाजको  चरित्रको समेत मिहिन चर्चा गरिएको छ ।

‘सांस्कृतिक पुन: सृजनको सवाल’ शीर्षकको लेखमा प्रा.डा. बद्रीविशाल पोखरेलले सिद्धान्त, दृष्टिकोणको आविस्कार, निर्माण र समयक्रममा हुने र गर्नुपर्ने पुन: सृजनका बारेमा व्याख्या गरेका छन् । प्राध्यापक केशव सुवेदीको ‘पूर्वज र परम्परालाई केपी शर्माको सांस्कृतिक सन्दृष्टि’ लेखमा केपी शर्मा ओलीद्वारा व्याख्या, विश्लेषण गर्ने गरिएको ‘जेनेटिक मेमोरी’ अर्थात ‘आनुवंशिक स्मृति’ बारेमा व्याख्या गरिएको छ । यो महत्त्वपूर्ण दृष्टिकोणलाई लेखको विषय बनाएर सुवेदीले गरेको व्याख्याले अरू विद्वानहरूमा पनि यस विषयप्रति चासो जगाउने छ भने आशा गर्न सकिन्छ । पूर्वजहरूप्रति आस्था उनीहरूमा भएको विशिष्ट एवम् असाधारण क्षमता पहिचान गर्नु र पुस्तान्तरण हुँदै वर्तमान पुस्तासम्म आइपुगेका ती गुणहरुलाई उजागार गरेर सदुपयोग गर्नुपर्ने केपी शर्मा ओलीको महत्वपूर्ण विचारलाई यो लेखले आफ्नो विषय बनाएको छ।

राष्ट्रिय जनसाहित्य सङ्घको इतिहास, यसले गरेका कार्यहरू र यसको वर्तमान अवस्थालाई साहित्यकार राम विनयको लेखले उजागर गरेको छ । ‘नेपाल प्रगतिशील गीतको इतिहास (२००७ साल अघिदेखि २०६७ सालसम्म)’ शीर्षकको गीतकार, सङ्‌गीतकार एवम् गायक माधव प्रधानको लेख यस क्षेत्रबारे जानकारी राख्न चाहनेहरूका लागि ज्यादै महत्वपूर्ण लेख हो। यस लेखमा काल खण्डगत वर्गीकरणसहित त्यो समयका प्रगतीशील गीतहरूका चर्चा मात्र गरिएको छैन उदाहरण समेत दिएर लेखलाई रोचक एवम् जानकारीमूलक बनाएको छ ।

प्रा.डा. कपिल लामिछानेको समालोचना ‘प्रगतिवादी नेपाली नाटकमा प्रतिविम्बित लोकजीवन’ मा नाटकमा लोकका मूल्यमान्यता, चालचलन, रीतिरिवाज आदि प्रतिविम्बित हुन्छन् भन्ने स्पष्ट पार्दै नेपाली प्रगतिवादी नाटकमा लोकजीवनका विभिन्न आयामहरू प्रकट हुने कुराको चर्चा गरिएको छ । विभिन्न नाटकहरूका उदाहरणहरू प्रस्तुत गर्दै यस समालोचकीय लेखलाई जानकारीमूलक पनि बनाइएको छ ।

नेपाली बालसाहित्य सम्बन्धी प्रा.डा. ध्रुव घिमिरेको समालोचनाले नेपाली बालसाहित्यमा प्रकट हुने गरेको  प्रगतिशील दृष्टिकोण उजागर गरेको छ । यस लेखमा  बालपद्य साहित्यलाई प्रगतिशील दृष्टिकोणबाट निहाल्दै यस्तो साहित्य तीन धारमा लेखिने गरिएको उल्लेख छ । उदाहरणसहित प्रस्तुत गरिएका ती तीन धारहरू यथास्थितिवादी धार, आंशिक परिवर्तनशील धार र पूर्ण परिवर्तनशील धार हुन् । डा. देवि क्षेत्री दुलालको समालोचनामा सहिद रत्न वान्तवाको साहित्यिक व्यक्तित्वलाई उजागर गरिएको छ ।

कम्युनिष्ट पार्टीका नेता रत्न कुमार वान्तवामा भएको कवि एवम् गीतकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व र चित्रकार व्यक्तित्वका बारेमा चर्चा गरिएको यस समालोचनाले उनका बारेमा पाठकलाई राम्रो जानकारी प्रदान गरेको छ । साथै यसबाट पाठकले रत्नका बारेमा लेखिएका कृतिहरूको समेत जानकारी पाउन सक्छन् । प्रा.डा. षडानन्द पौड्‌यालको अनुसन्धानात्मक लेखमा लोकमान्यता र  धार्मिक तथा पौराणिक सन्दर्भमा फेला पर्ने प्रागैतिहासिक तथ्यहरूको विश्लेषण गर्दै गण्डकी प्रस्रवण क्षेत्रको प्रागैतिहासिक संस्कृतिलाई प्रस्तुत गरिएको छ ।

नेपाली कविता साहित्यमा देखा परेका विभिन्न धाराहरू मध्ये एक महत्वपूर्ण प्रगतिशील धाराको बारेमा डा० हरिप्रसाद सिलवालको समालोचनामा विश्लेषण गरिएको छ । प्रगतिशील एवम् प्रगतिवादी साहित्यलाई परिभाषित गर्दै नेपाली प्रगतिशील कविता साहित्यको अवस्था र प्रवृतिका बारेमा यस लेखमा चर्चा गरिएको छ । डा. गोविन्द प्रसाद आचार्यको लेखले हिन्दु परम्परामा गरिने श्राद्ध विधिमा महिलाहरूको के कस्तो स्थान छ, पितृसतात्मक समाज व्यवस्थाले महिलाहरूलाई कस्तो परिवेशमा राखेको छ, आमा; नारी अर्थात महिलालाई किन उचित महत्व दिइदैन भन्ने कुरा नै यस लेखको मूल विषय बनेको छ । नेपाल विभिन्न धर्म, संस्कृति, परम्परा एवम् जात-जातिको सुन्दर फूलबारी भएको कुरा प्रष्टिने गरी हरिप्रसाद तिमिल्सिनाको अनुसन्धानात्मक समालोचना मुस्लिम समुदायमा प्रचलित परम्परागत गीतसङ्‌गीत समेटिएका छन् । मुस्लिम समुदायका प्रमुख चाडपर्व र प्रचलन, उक्त समुदायमा प्रचलित गायन, नृत्य र सङ्‌गीत आदि यस लेखका मूल सन्दर्भहरू हुन्।

पुर्वेली थारू संस्कृतिको अध्ययन गरिएको लेखमा नेपालको पूर्वी तराईमा बसोबास गर्ने थारू जातिका सांस्कृतिक चालचलन, रीतिथिती परम्परा आदिका बारेमा गहिरो अध्ययन गरिएको छ । मधु पोखरेलको यो लेख अनुसन्धानात्मक लेख हो । रूपक अलङ्‌कारद्वारा लिखित लेख ‘वैदिक वाङ्मय : वर्तमान संस्कृतिको प्रस्थान’मा वेदको वास्तविक अर्थ केलाउँदै वैदिक वाङ्‌मयले प्रस्तुत गरेका विषयहरूलाई उजागर गर्ने प्रयास भएको छ । आज हामीले अपनाइरहेको संस्कृतिको प्रस्थान विन्दु वैदिक वाङ्‌मय हो भन्दै अलङ्‌कारको लेखमा विभिन्न वेदहरूका मूलमर्मको स‌क्षिप्त जानकारी प्रस्तुत गरिएको छ । लेखमा वेदमा मानिस मानिसजस्ता र देवता प्रकृतिजस्ता छन् भन्ने वास्तविकता प्रस्तुत गर्दै प्रकृति पूजा नै हाम्रो संस्कृतिको प्रस्थान विन्दु हो भनिएको छ ।

नेपालको पत्रकारिताको वर्तमान अवस्थालाई पत्रकारिता सम्वन्धी यशोधा अधिकारीको लेखले व्यक्त गर्ने कोशिस गरेको छ । लेखमा नेपाली पत्रकारिताको इतिहास, साहित्यिक दृष्टिमा सञ्चार माध्यमको अवस्था, मिडियामा लगानी र साहित्यलाई कम प्राथमिकता आदि विषयलाई सङ्‌क्षिप्त रूपमा उल्लेख गरिएको छ । नवराज रिजालको ‘संस्कृति र सांस्कृातिक विचलन’ शीर्षकको लेखले हाम्रो संस्कृति र हामीमा देखिएको सांस्कृातिक विचलन सम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।

संस्कृतिको परिभाषा, संस्कृतिको वर्गीकरण र वर्तमान अवस्थामा संस्कृतिमा आएको विचलनलाई यस लेखमा चर्चा गरिएको छ। ‘मुर्छित सपनाहरू बिउँझाउदै समृद्धितर्फ’ लेखमा प्रकाश सिलवालले राजनीतिक नेतृत्वमा रहेको दुरदर्शी, जनप्रेमी, राष्ट्रप्रेमी व्यक्तित्वले देश र जनताका मुर्छित सपनाहरूलाई बिउँझाउन सक्छ भन्ने सत्यलाई उजागर गर्दै नेपालको राजनीतिमा केपी शर्मा ओली त्यस्तो व्यक्तित्व भएको उल्लेख गरेका छन् । केपी शर्मा ओलीले गरेका कामहरूले नेपाली र नेपालको भविस्य सुन्दर र सुखी बनाउने गोरेटो खोलेको विश्वास व्यक्त गर्दै लेखमा वास्तवमा नेपाली जनता र नेपाल राष्ट्रका मुर्छित सपनाहरू बिउँझिएको विचार प्रकट भएको छ । राष्ट्र निर्माण र विकासका आधार भनेका युवा नै हुन् भन्दै सुनिता बरालको लेखमा युवामा सांस्कृतिक जागरणको खाँचो भएको कुरा औल्याइएको छ ।

गजल सम्बन्धी लेखमा ज्ञानु विद्रोहीले नेपाली गजल लेखनको विकास र सामाजिक एवम् राजनीतिक रूपान्तरणका  पक्षमा लेखिएका गजलहरूको बारेमा चर्चा गरेका छन् । गजलका उदाहरणसहित प्रस्तुत समालोचकीय लेखमा विद्रोहीले समाजिक र राजनीतिक परिवर्तनमा वर्तमान समयमा लेखिएका खासगरी प्रगतिवादी दृष्टिकोण प्रक्षेपण गर्ने गजलहरूले निर्वाह गर्ने भूमिकालाई उजागर गरेका छन् । गणतंत्र स्थापनापश्चात् नेपाल-चीन सम्बन्धका बारेमा कृष्ण बहादुर केसीको अनुसन्धानमूलक लेखमा नेपाल-चीन सम्बन्धका विविध आयामहरूको सङ्‌‌क्षित चर्चा गरिएको छ।

अच्यूत घिमिरेको लेखमा हिन्दू संस्कृतिका केही पक्षको मार्क्सवादी आलोकमा विश्लेषण गरिएको छ । शुभेच्छा मेयाङ्बोको ‘संस्कृतिले बनाएको पर्यटकीय गाउँ नाम्जे’ लेख स्थान  परिचय प्रस्तुत भएको राम्रो लेख हो। पर्यटकीय दृष्टिकोणमा नाम्जेको महत्व, पर्यटकीय स्थलका रूप‌मा नाम्जेलाई विकास गर्न गरिएका प्रयासहरू र नाम्जेको वर्तमान अवस्थाका बारेमा यस लेखमा उल्लेख गरिएको छ । सिन्धु जलेसा बुढाथोकीको लेखमा नेपाली समाज र समाजका विभिन्न क्षेत्रमा हुने गरेको महिलाहरूको समावेसी प्रतिनिधित्वको चर्चा गरिएको छ ।

‘साङ्गठानिक प्रतिवेदन’ शीर्षकमा राष्ट्रिय जनसांस्कृतिक महासङ्‌घ नेपालको आठौं अधिवेशन २०७८ (चैत १८-२०)’ शीर्षकमा तत्कालिन अध्यक्ष खगेन्द्र राईद्वारा प्रस्तुत प्रतिवेदन पनि समेटिएको छ । ‘संस्कृति’ महासङ्घको मुखपत्र भएका कारण यो प्रतिवेदन समेटिनु आफैमा महत्वपूर्ण छ भने पाठकलाई यस्ले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गरेका विभिन्न कार्यहरू र यसको साङ्गठनिक अवस्थाका बारेमा जानकारी समेत प्रदान गरेको छ।

यसैगरी यस प्रकाशनमा विभिन्न लेखकहरूका संस्मरण, निबन्ध एवम्  कविता र गीतहरू पनि समेटिएका छन् । महासङ्‌‌घका अध्यक्ष प्रेमनाथ अधिकारीको ‘थाहा नपाई गरिएको नेतृत्व’ एउटा रोचक संस्मरणात्मक लेख हो । अधिकारीले लेखमा आफ्नो बालककालदेखि हालसम्मका सामाजिक र राजनीतित सन्दर्भहरूलाई उजागर गरेका छन् । उनको लेखमा एउटा सरल व्यक्ति कसरी साङ्‌गठनिक कामले स्थापित हुन्छ र थाहै नपाई उसलाई कामको लगनशील निरन्तरताले नै नेतृत्वमा कसरी पुर्‍याउछ भन्ने मूल आसय ब्यक्त भएको छ। नेपाली सङ्गीत र नाट्य क्षेत्रको विकास, सम्बर्द्धन र प्रवर्द्धनका लागि क्रियाशील नेपाल सङ्गीत तथा नाट्‌य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भएर आफ्नो कार्यकालमा गरेका कार्य र विभिन्न प्रयासका बारेमा प्राज्ञ अशोक कुमार राईको संस्मरणात्मक  लेख यस ग्रन्थको अर्को महत्वपूर्ण रचना हो। उक्त लेखमा राईले देशका स्थानीय निकाय वडादेखि विदेशका विभिन्न ठाउँमा बसेका नेपालीसम्म काम गर्दै पुगेका अनुभवहरू समेटेका छन् ।

त्यस्तै प्रा.डा. ऋषिराम शर्माको ‘कफीग्रामदेखि  चियाग्ररामसम्म’ संस्मरणात्मक लेखमा नेपालको कफीखेतीमा नाम कहलिएको गुल्मीको आँपचौर र चियाखेतीका लागि प्रसिद्धी कमाएको इलामका विभिन्न स्थानहरूको भ्रमणको सम्झना गरिएको छ । लेखमा कफीखेती र चियाखेतीका विभिन्न आयामहरूको चर्चा गरिएको छ । नन्दु उप्रेतीको यात्रा सम्बन्धी संस्मरण राजनीतिक चेतना र गतिविधि केन्द्रित रचना हो । माधव नेपालले आफ्ना कार्यकर्तासँग माओवादी बनिन्छ भनेर गरेको खुलेआम घोषणाको सन्दर्भ नै यस संस्मरणको मूल विषय बनेको छ। पद्मप्रसाद शर्माको ‘जीवन र वतावरण’  निबन्धमा वातावरण संरक्षणका विविध पक्षहरूको चर्चा गरिएको छ भने होमराज श्रेष्ठको ‘परिवर्तनको अनुभव’ शीर्षकको संस्मरणमा विगतको विकासको अवस्था, कष्टकर जीवनशैली र वर्तमान अवस्था एवम् जीवनशैलीको तुलना गरिएको छ ।

‘संस्कृति-१३’ मा समेटिएका कविताहरू प्रगतिशील / प्रगतिवादी दृष्टिकोण अवलम्बित कविताहरू हुन्। महासङ्घको उपाध्यक्ष भूमिका सुब्बाको ‘झुल्क्यो घाम’ गीतले सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध भएर मातृभूमिको रक्षा र समृद्धिको अभियानमा लाग्न आह्वान गरेको छ । वासुदेव अधिकारीको कविता ‘लघु इच्छा’ ले व्यक्तिस्वार्थ, विसङ्गति र विकृतिमाथि कठोर प्रहार गरेको छ । त्यसैगरी सुशिला प्रधानाङ्‌गको ‘धरहरा उभियो’ कवितामा विगतको धरहराको रूपरङ्‌ग र प्रतीकात्मत रूपमा यसले प्रकट गर्ने भाव एवम् वर्तमानमा उभिएको धरहराको रूपरङ्‌ग र यसको प्रतिकात्मक भावलाई प्रकट गर्ने प्रयास गरिएको छ । डा० देवी नेपालको रचना र नारायण ओलीको स्वर एवम् सङ्‌गीतले सजिएको गीत ‘एक मुठी माटो’ ले राष्ट्रियताको भावना व्यक्त गर्दै निर्वाचनमा नेकपा एमालेलाई मतदान गर्न आह्वान गरेको छ । स्नेह सायमीको कविता ‘कफी!’ मा अव्यवस्था, अविश्वास, अस्तव्यस्तताको यथार्थ स्थिति प्रस्तुत गर्दै कठोर व्यङ्ग्य प्रहार गरिएको छ ।

कवितामा समाजका सबै वर्ग, पेशा, लिङ्गका मानिसहरू र तिनको जीवनशैली आदिलाई समेट्ने प्रयास गरिएको हुन्छ । प्रतिभा पुनको ‘नारी’ कविता यसैको द्योतक हो । यस कवितामा नारीमाथिको दमन, उत्पीडन र असमानता एवम् विभेदका पीडाहरूलाई उजागर मात्रै गरिएको छैन नारीहरूलाई तिमी शक्तिशाली छौ अब समानताका लागि कम्मर कस, हिँड र कुद वेगले भनेर आह्वान समेत गरिएको छ । यज्ञराज पौडेलको ‘साथी’ कवितामा साथीसँगको वैयक्तिक सन्दर्भ विषय बनेको छ भने तिला लेकालीको कविता ‘म फेरि आउने छु आमा’ कविताले आमाको शक्ति, आमाको सहनशीलता, आमाको सहास,  क्षमादान र शान्तिको भावनाप्रति बन्दना गर्दै आमालाई नरुन आग्रह गरेको छ ।

आमा अर्थात् मातृभूमिको सेवा सन्तानको मूल काम हो भन्ने धारणा यस कवितामार्फत प्रकट भएको छ। तिलक लामिछानेको ‘काला बिरालाहरू’ कवितामा आन्दोलनमा देखिने गरेका धोखाधडी, पलायन र आत्मसमर्पणप्रति घोर विरोध र अस्विकारोक्ति व्यक्त भएको छ । डम्बर पहाडीको कविता ‘नालापानी थुम’ इतिहास विषयक कविता हो । नालापानी युद्धका बहादुर नेपाली योद्धाहरूप्रति श्रद्धाभाव व्यक्त भएको यो कवितामा राष्ट्रप्रेमको उच्च भावना प्रकट भएको छ । ‘ज्यामिरे कान्छो’ कवितामा एउटा साथी आन्दोलनमा सहिद भएको र अर्को साथी त्यही आन्दोलनले ल्याएको परिवर्तन पश्चात शासक भएको शब्दचित्र प्रस्तुत भएको छ ।  कवि हेमराज अधिकारीले शासक साथीले सहिद साथीलाई गरेको सम्झनालाई व्यङ्ग्य भावमा प्रकट यश कवितनमा गरेका छन् ।

‘मेरा छातीमा नाङ्‌गो नाच’ कविता देशको माया व्यक्त भएको कविता हो। राम प्रसाद अवस्थीको यो कविताले शासकहरूको देशप्रतिको गैरजिम्मेवारपूर्ण चालचलन, शत्रु छिमेकको व्यवहारजस्ता कुराको घोर विरोध गरेको छ। त्यस्तै ‘स्वघोषणामा समय’ कविता कवि राममणि ढुङ्‌गेल विवेक, वृद्धि र चेतनालाई घमण्ड, विवेकहीनता जस्ता कुराले जितेपछि आस्थाको, विश्वासको धरोहर अवश्य ढल्छ भन्छन् । कवितामा बुद्धि र इज्जतलाई बचाउन नसके पछुतो बाहेक केही बाँकी रहन्न भन्ने भाव झल्कन्छ ।

गम्भीर एवम् गहन सैद्धान्तिक लेख रचना र साहित्यिक सृजनाहरू समेटिएको ‘संस्कृति – १३’ खासगरी मार्क्सवादी दृष्टिकोणका हिमायतीहरूका लागि अत्यन्तै पठनीय सामग्री हो। समय सुहाउँदा गम्भीर वैचारिक अध्ययन सामग्रीहरूको प्रकाशन अत्यन्तै कम भइरहेको वर्तमान अवस्थामा असाध्यै महत्वपूर्ण वैचारिक अध्ययन सामग्रीका रूपमा ‘संस्कृति -१३’ प्रकाशित भएको छ । महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको नामावलीले यस सङ्कलनलाई अझ प्रभावकारी बनाएको छ ।

साहि‌त्यिक रचनाहरूमा कविता, गीत, संस्मरण, निबन्धलाई समावेश गरिसकेपछि कथा, लघुकथा, छोटा एकाङ्‌की, गजल आदिलाई पनि समेट्न सकिएको भए अझ राम्रो हुने थियो ।  मुद्राराक्षसका कारण भएका केही कमजोरीहरू देखिन्छन् । यस्ता सामान्य कमजोरीलाई छोडेर संस्कृतिको यस अङ्‌कलाई अत्यन्तै महत्वपूर्ण प्रकाशन मान्न कुनै द्विविधा हुदैन । धेरै धेरै धन्यवाद यस प्रकाशनका लागि राष्ट्रिय जनसांस्कृतिक महासङघ, नेपाल र ‘संस्कृति १३’ को सम्पादक परिवारलाई ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार २१:४६

UniversityCollege.com