१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रचण्डदेखि माधवसम्म सुटुक्क भेटेर फर्किए सामन्त गोयल, राजनीतिमा फेरि भूइँचालोको संकेत


९ माघ, काठमाडाैँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डदेखि संसदभित्र राष्ट्रिय दलको मान्यता पाउन नसकेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई सुटुक्क भेटेर फर्किएका छन ।

पछिल्लो पटक भत्किएको नेपाली राजनीतिको आँधी मानिएका गोयलले गत साता नेपाली राजनीतिका शीर्ष नेताहरूसँग छुट्टछुट्टै गोप्य भेटघाट गरेका हुन । उच्च सुरक्षा स्रोतका अनुसार गोयलले नेपालमा तीन दिन बिताएका थिए । उनले दुई रात तीन दिन बिताउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईसम्मसँग गोप्य भेट गरेका थिए ।

स्रोतका अनुसार गोयलले प्रधानमन्त्रीसहित निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई भेटेका हुन ।

गोयलसँगको गोप्य भेटका बारेमा प्रधानमन्त्री र कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन् । अर्थात उनीहरूले भेटको विषयको गोप्यता भंग गरेका छैनन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवासमा गोयलले भेटेको विषय र त्यसपछिको राजनीतिक घटनाक्रमका विषयहरू अहिले पनि चर्चा हुने गरेको छ ।

स्रोतका अनुसार गोयलले जसपा र जनमत पार्टीलाई उनीहरूको माग अनुसारको मन्त्रालय दिएर चित्त बुझाउन प्रधानमन्त्री लगायतसँग आग्रह गरेका छन । सोही अनुसार एमालेका दुई मन्त्रीको मन्त्रालय सरूवा गरेर भए पनि जसपा र जनमत पार्टीका नेतालाई मालदार मन्त्रालय दिने विषयमा छलफल सुरू भैसकेको छ । जसपाले स्वास्थ्य र जनमतले उद्योग मन्त्रालय पाउने सम्भावना रहेको छ । यस विषयमा प्रधानमन्त्रीले सत्ता साझेदार दलका नेताहरूसँग परमाशर्म समेत थालेका छ ।

समान्त गोयगलसँगको भेटका बारेमा चासो राख्दा नेकपा एमालेका नेता दुर्गा प्रसाईले दुई देशको हित र धर्म संस्कृतिको संरक्षण लगायतको विषयमा कुराकानी भएको दैनिकीलाई जानकारी दिए ।

ओलीमाथि जे भनेर धारे हात लगाए त्यही गरे 

तत्कालीन नेकपा भित्र तत्कालीन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई रअ प्रमुखसँग भेटेको भनेर चर्को आलोचना गर्दै प्रचण्ड र माधव नेपालहरू सडकमा निस्किएका थिए । उनीहरूले केही महिनाअघिसम्म पनि सार्वजनिक समारोहमै समान्त गोयलसँगको ओलीको भेट चर्चा गर्दै चर्को आलोचना गर्दै आइरहेका थिए । उनीहरूको कार्यकर्ताले अहिले पनि सोही विषय उल्लेख गर्दै ओलीको आलोचना गर्ने गरेका छन ।

नेपाली राजनीतिमा भुइँचालोको संकेत 

भारतीय रअ प्रमुखले प्रधानमन्त्रीदेखि प्रमुख दलका सबै नेतासँग गोप्य भेटघाट र छलफल गरेपनि फेरि नेपाली राजनीतिमा भुइँचालोको संकेत देखिएको छ । भारतले नेपाली राजनीतिमा उतारचढाव ल्याउन भूमिका खेल्दै आएको विषय घाम जत्तिकै छर्लङ्गनै देखिएको छ । भारतीय दूतावासले केही दिनअघि गरेको सांगितिक साँझमा पनि वामपन्थी नेताहरू लाइन लागेर पुगेका थिए ।

महन्थ ठाकुर बाहेक पहिलो लहरमा देखिएका सबै वामपन्थी नेताहरू थिए । रअको यो सक्रियतासँगै फेरि राजनीतिक परिघटना देखिन सक्ने अनुमान गरिएको छ । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा भएको यो चलखेलले फेरि नेपालको राजनीति अस्थिरताको बाटोमा पुग्ने हो कि भन्ने शंकाहरू देखिएका छन ।

(दुई रात तीन दिन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । प्रधानसम्पादक)

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १२:५३