१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

द्वैध चरित्रका घनश्याम-भीम र एमालेको चुनावी समिक्षा


-सरोजकुमार तामाङ 

राजनीति भनेको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको बिरुद्ध गरिने बौद्धिक र भौतिक विश्वव्यापी मान्यता हो । ती युगौंदेखि उत्पीडनको चक्करमा पिंधेर शोषणको शिकार बनाउनेहरुको तख्ता पल्टाउन मोर्चा समाल्ने नेतृत्ववर्गहरुसँग विचार र सिद्धान्तको धारिलो हतियार सदैव हुनुपर्छ । तर, जब न्यायको वैचारिक बहसको साझा चौतारीमा अवसरवादी, विचौलिया, दलाल, माफिया र तस्करहरुले रजगज गर्न थाल्छ तब जनताले बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा सबै दलहरुलाई एकमुष्ठ रुपमा देख्न थाल्छन् ।

गत निर्वाचनको कुरा नै गर्ने हो भनेपनि गरिब, किसान, मजदूर, सर्वहारा र श्नमजीवीवर्गको उत्थानको निम्ति भन्दै हिड्ने हामी नेकपा एमालेको वैचारिक र सैद्धान्तिक बहसलाई थाती राख्दै अस्थायी सत्ताको निम्ति एकपछि अर्को चुनावको यात्रामात्र तय गर्दा बाँकी अरु दल भन्दा भिन्न प्रकृतिको आभाष जनताले गर्न सकेनन् । आमजनताले हामीलाई चुनाव अघिको पाँच दलीय गठबन्धन भन्दा फरक ढँगले हेरेनन् किनकि हामी पनि क्षणिक सत्ता मोह बाहेक आमूल समाजको परिवर्तन गर्ने मूल मुद्दालाई छाड्दै उही काँग्रेसी अवसरवादको मिठो मार्ग नै समात्न पुग्यौं ।

जब सबै दलहरु हेर्दा उस्तै लाग्छ र विकल्प दिन नसक्ने जत्थाहरुमा परिवर्तन हुन्छ भने त्यो बेला जसले जसलाई भोट हाले पनि भै गो नि । नेकपा एमालेलाई नै भोट हाल्नु पर्ने कारण के नै रह्यो र ? बाँकी राजनीतिक दलहरु भन्दा हामी एमालेजनहरु सैद्धान्तिक र वैचारिक बहसहरुमा फरक हुँदैनौं भने कार्यकर्ता र जनताले विश्वासघात गर्यो भनेर समिक्षा वैठकहरुमा किन रोइलो गर्नु ? एक निर्वाचनपछि अर्को निर्वाचनसम्म मात्र फन्को मार्ने हो भने समाज बदल्ने मार्क्सवादी विश्व सर्वहारा दृष्टिकोणलाई तिलान्जली दिदाँ हुन्छ ।

सत्ता अस्थायी हो, पार्टी र संगठन स्थायी हो भने ती पार्टी र पार्टीका पाठपूर्जा भनिने विभिन्न संगठन र जनसंगठनहरुलाई जिवन्त राख्न सक्नुपर्छ । त्यो जिवन्त हुनको लागि जनता जोडिनुको विकल्प हुँदैन् । जनता तबमात्र जोडिन्छ जब जनजिविकाका सवालहरुले प्रत्येक वैठकहरुमा प्रमुखताका साथ स्थान पाउँछ । मार्क्सवाद-लेनिनवाद-माओवादले जनता, जनसंगठन र जनसंघर्ष त्यतिकै भनेको होइन् ।

समाजको आमूल परिवर्तनको निम्ति समाजलाई निर्माण गर्ने अघिकांश जनतालाई उपेक्षा गर्दै अवसरको लागि बनाउने संगठन र दलहरुले समाजको साझा मुद्दाहरु उठान गर्न सक्दैन् । त्यसैले जनता ती अवसरवादी दलहरुबाट टाढिदैँ जाने हो । यसरी जनता, सच्चा र इमान्दार कार्यकर्ताहरुलाई विमुख तुल्याएर निर्वाचनमा होमिदाँ घात अन्तरघात हुँदै हारको नतिजा व्यहोर्नु कुनै नयाँ नौलो बिषय हैन् र त्यो बिषयलाई समिक्षा वैठकहरुमा उठाएर रुनु कराउनु ठिक पनि होइन् ।

विचारले जनता र कार्यकर्तालाई संगठित नबनाई चुनावमा जादाँ पैसामा मत बेचिँदा चुनाव महंगो भयो भन्नु बिना बुद्धिको राजनीति हो । चुनाव महंगो भन्नेहरुले जनता र कार्यकर्ताहरुलाई विचारले संगठित बनाउनौं, तब पैसाको खोलो बगाउनु पर्दैन् । गत निर्वाचनबाट नेकपा एमालेले भने जस्तो सिट जितेन भन्दैमा आज प्रतिनिधिसभा र प्रदेशसभाहरुमा सिट खाली छ र ? हामीले नजिते अरुहरुले जितेर आएकै छन् ।

जति सांसद संख्या हुनुपर्ने हो, त्यति गणनामा छदैँछ । यसमा चिच्याउनु पर्ने कारण के ? निद हराम गर्नुपर्ने कारण के ? कार्यकर्ताहरुलाई कार्वाहीको सिफारिस गर्नुपर्ने कारण के ? होइन, नेकपा एमाले बाँकी दलहरु भन्दा फरक हो भने वैचारिक र सैद्धान्तिक बहस पार्टीभित्र किन गरिदैँन् ? कार्यकर्ताहरुलाई गर्व गर्न लायक पार्टी निर्माण गर्न किन पहल नगर्ने ? लक्षित जनता संगठित हुने वातावरण किन तय नगर्ने ? धनी या गरिब जसले पनि प्रयोग गर्ने पैसा र तिनको मुल्य एकै हो ।

मानिस फरक पैसाले हैन, विचारले हुने हो । तसर्थ पैसाको हैन, विचार र सिद्धान्तको राजनीति गरौं । पैसाले हैन, विचारले परिवर्तन आउने हो । अवश्य पनि जनताको बहुदलीय जनवादले भन्ने गरेको जनवादी राज्यसत्ताको घोषणा गर्ने हो भने प्राप्त राजनीति उपलब्धिहरुको रक्षा र तिनको प्रगतिशीलतामा संस्थागत गर्दै बाँकी श्नमजीवीवर्गको नेतृत्वमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको खाकाहरु आजैबाट सृजनात्मक सोचका साथ गरम बहसहरु चलाउँदै जाऔं ।

यसले सबै राजनीतिक आयामका अवयवहरुलाई जिवित तुल्याउँछ र अन्तिम निर्विकल्प साम्यवादी लक्ष्यमा पुग्न मार्गनिर्देश गर्छ । यसरी एकपछि अर्को गर्दै हामी वैज्ञानिक समाजवादका संवाहककर्ताहरुले चुनावलाई रणनीतिक उपयोग गर्दै प्रगतिशीलतामा अघि बढ्नु पर्नेमा उल्टै बहुदलीय प्रतिस्पर्धामा प्राप्त गरेका हाम्रा आधार इलाकाहरु पनि गुमाउँदै जाने हो भने त्यो घोर दक्षिणपन्थी अवसरवाद हो जसको अन्तिम विलयको बिन्दू प्रतिक्रियावादको मार्ग पच्छ्याउँदै त्यही साम्राज्यवादको असली भरौटे बन्नु हो । आज मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामा सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादको विचार सजिलै बिक्नु यसैको परिणाम हो ।

मुलुकको ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै जबजको माध्यमबाट जनवादी सत्ता घोषण गर्दै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने दिशा उन्मुख हौं । यसो भनि रहदाँ वैचारिक बहस गर्ने घनश्याम भुसाल र भीम रावल जस्ताहरु उपेक्षा हुनुपर्छ नि भन्ने जस्ता गरिबी सोचहरु पनि नउम्रने होइन् । वास्तवमा विचारमा आमजनता मिसिनु पर्छ । जनता त्यो विचारप्रति संगठित हुनुपर्छ । घनश्याम भुसालको बिषय के हो भने उग्रवामपन्थी कुरा गर्ने तर व्यवहारमा आफू कृषिमन्त्री हुँदा रासायनिक मल समयमै उपलब्ध गर्न नसक्ने ।

दलाल नोकरशाही पुँजीवादको घोर बिरोध गर्ने घनश्याम भुसालले आफू कृषिमन्त्री हुँदा त्यसका हाँगाहरुको काँटछाँट गर्न किन नसकेका हुन् ? यस्ता जनविचार हुन सक्दैन् । त्यो मात्र उग्रवामपन्थ हो । कम्युनिष्टको वैचारिक आलोकमा आफ्नो व्यक्तिगत राजनीतिक रोटी सेक्ने बाहेक अन्य केहिपनि होइन् । उता भीम रावलको केस पनि उही हो । चर्का राष्ट्रवादी मुद्दा उठाउने तर पटकपटक मन्त्री हुँदा भने त्यही साम्राज्यवादी शक्तिको आशिर्वाद लिने दोहोरोनीतिले गर्दा जनताबाट टाढिएका चर्का राष्ट्रवादी मुद्दा उठाउने तर पटकपटक मन्त्री हुँदा भने त्यही साम्राज्यवादी शक्तिको आशिर्वाद लिने दोहोरोनीतिले गर्दा जनताबाट टाढिएका हुन् । त्यसैले मालेमावादले जनता, जनसंगठन र जनसंघर्ष त्यतिकै भनेको होइन् ।

अर्कोतर्फ नेकपा एमालेका श्नद्धेय अध्यक्ष केपी शर्मा ओली भने घनश्यामभुसाल र भीम रावलहरु भन्दा फरक हुनुहुन्छ । उहाँको फरक शैली के हो भने सुखी नेपाली समृद्ध नेपालको कुरा गर्नु भो तर जनता छुटाउनु भएन् । जनराष्ट्रवादको कुरा उठाउनु भो, जनतासँगै मिलेर भारतीय नाकाबन्दीको डटेर सामाना गर्नु भयो र सफलता पनि प्राप्त गर्नु भो । जनचाहाना बमोजिमको राष्ट्रिय एकता र भौगोलिक अखण्डाको बिषयमा जनभावनाको कदर गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्शा जारी गर्नु भयो । हो, यसरी जनतालाई साथै डोर्याएर हिड्ने नेता वास्तवमै जनताको प्रिय पात्र बन्ने छन् र मार्गदर्शकको रुपमा समाजले ग्रहण गर्नेछ । भलै, विचारको सम्प्रेषण ब्यक्तिले गरेतापनि त्यसको स्वामित्व भने समाजको हुनुपर्छ किनकि हामी सामाजिक प्राणी हौं, हाम्रा आवश्यकताहरु अनगिन्ती छन् । ती अनगिन्ती आवश्यकताहरु परिपूर्ति हामी एक्लैले गर्न सक्दैनौं, त्यसमा समाजका साथ र सहयोग चाहिन्छ ।

आज हामी कोरोनाको कहरबाट करिब करिब मुक्त भएका छौं । त्यो विगतको महामारीसँग जुध्न आविष्कार गरिएको वैज्ञानिक खोपको सफलताले नै सम्भव भएको हो । खोपको आविष्कार गर्ने वैज्ञानिक पनि हाम्रै समाजका एक व्यक्ति हुन् । उसले मेरो नातासँग सम्बन्धित नभएका मानिसहरुको लागि किन दिमाग खियाँएर खोप पत्ता लगाउनु भन्ने कुविचारको जन्म भएको भए के त्यो सम्भव थियो ? सम्भव भयो समाज कल्याणको निम्ति । आज हामीले प्रयोग गर्ने प्रत्येक विज्ञान र प्रविधिको साधनहरु व्यक्तिले नै आबिष्कार गरेर समाज विकासको निम्ति समर्पण गरे, त्यो नै मानव कल्याणका उत्कृष्ट उदाहरणहरु हुन् । तर, हामीमा यसको ठिक विपरित व्यक्तिवादी चिन्तनले ग्रसित दस्ताहरुद्धारा समाज भरिएको छ । समाज भन्दा व्यक्तिलाई प्रधानता ठान्ने परम्परागत सामन्तवादी र पुँजीवादी सोचले निकास पाएको छैन् ।

अन्त्यमा, एक चुनावदेखि अर्को चुनावसम्म फन्को मात्र मारेर बस्ने संस्कार वृहतर समाजको उपेक्षा गर्दै व्यक्ति बन्ने पुँजीवादी शैली हो जसले जनतालाई व्यवस्थासँग छुटाउँदै जानेछ । त्यो बेला सत्तामा पुग्न पैसाले मत किन्नु पर्दा चुनाव महंगो भयो नभनौं । हैन, समाजलाई बदल्ने हो भने समाज बदल्ने विचार र सिद्धान्तको जग जनताको बहुदलीय जनवादको हाम्रो कार्यक्रमको थप व्याख्या र विश्लेषण गर्दै समाजवादको आधार निर्माण गर्न तर्फ लागौं । पार्टीलाई जिवित तुल्याउन वर्गसंघर्षको राजनीतिक मुद्दाहरु र दक्षिणपन्थी अवसरवाद लगायत सर्वहारावर्ग अधिनायकत्व राज्यसत्ताको बिरुद्ध उभिने र उभिन कोशिस गर्ने सम्पूर्ण प्रतिक्रियावादी शक्तिहरुलाई पररास्त गर्न अन्तरसंघर्ष कायमै राखौं ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १७:४९