१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नबिल बैंकले कमायो ३ अर्ब ४१ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?


८ माघ, काठमाडाैं । नबिल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । चालु आवको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन, गत वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेकाे थियाे ।

याे अवधिमा बैंकको कुल संचालन आम्दानी ९ अर्ब ५१ करोड ६३ लाख १६ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको संचालन मुनाफा पनि ५६.०६ प्रतिशतले वृद्धि भई ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । चालु आवको पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ र जगेडा तथा कोषमा २६ अर्ब ८१ करोड ९२ लाख ७० हजार रुपैयाँ रहेकाे छ ।दोस्रो त्रैमासमा बैंकले कुल ३ खर्ब ४७ अर्ब ४६ करोड १६ लाख ६२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ५१ अर्ब ६४ करोड १५ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.८७ प्रतिशतले वृद्धि भई २.९८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको थियो । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १९९.१२ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार १०:३४