१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सेयर किन्ने साेचमा हुनुहुन्छ ? यी बीमा कम्पनीकाे खरिद गर्दा पाउन सकिन्छ लाभांश


५ माघ, काठमाडौं । सेयरमा लगानी गरेकाे केही समयमा नै कम्पनीले प्रदान गर्ने लाभांश लिने चाहाना छ ? यसाे हाे भने तपाईहरूले सेयर किन्दा कुन कम्पनीले लाभांश घाेषणा गरेसँगै बुकक्लोज गर्न बाँकी छन् तिनीहरूकाे बिषयमा जानकारी लिनु पर्ने हुन्छ । हालसम्म सञ्चालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

कम्पनीहरूले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । लाभांश घाेषणा गरेका कम्पनीहरूमध्ये पनि ७ कम्पनीकाे सेयर किन्दा अझै लगानीकर्ताहरूले लाभांश पाउन सक्नेछन् ।

हिमालयन एभरेष्ट, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल, सगरमाथा र एनएलजीले हालसम्म साधारणसभा र बुक क्लोज गर्ने निर्णय गरेका छैनन् । भने शिखर इन्स्योरेन्सले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा माघ २५ गते बोलाएको छ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ १७ गतेदेखि बुकक्लोज गर्ने भएको छ । जसअनुसार माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागि हुन सक्नेछन् ।

हालसम्म शिखर इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स २.८९ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ६.८४२ प्रतिशत, प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्सले ७.३५ प्रतिशत लाभांश दिने निर्णय गरेका छन् ।

साथै, सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर उक्त लाभांशलाई प्राधिकरणले संशोधन गर्दै हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले ८.४२११ प्रतिशत, आइएमई जनरलले ६.८४ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सल ५.२६३२ प्रतिशत, प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले ९.४७३७ प्रतिशत र नेको इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश घोषणा गरेका थिए ।

कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुको साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुन्छ ।

कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि निश्चित अवधिका लागि बुकक्लोज गर्ने गर्छन् ।

कम्पनीहरुले कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश, बोनस सेयर र हकप्रद सेयर जस्ता प्रतिफलहरु दिने लगायतका विषयहरुको निर्णय लिनका लागि बुक क्लोज गर्ने गरेका हुन्छन् । बुकक्लोज भएको अवधिमा पनि कम्पनीहरूकाे सेयर खरिद बिक्री गर्न भने सकिन्छ ।

बुकक्लोज हुन बाँकी कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुकक्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुकक्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउने व्यवस्था छ । बुकक्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउनका लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १५:४७