७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गोरू जात्राको नाममा ८ लाख कुम्ल्याउन टिप्पणी सदर गर्ने अध्यक्षले कर्मचारीलाई पत्र नै लेखे !


५ माघ, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरल निर्विवादित पात्र होइनन् । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहका नेताहरूसँग निकट रहेका अधिकारीले विगतको विवादलाई उछिन्ने गरी थप नयाँ विवादहरू सिर्जना गर्दै आफूलाई त्यसको केन्द्रमा राखिरहेका छन ।

पैसाका लागि जे पनि गर्न तयार हुने पात्रका रूपमा समेत परिचत अधिकारीले गाउँपालिकाको अध्यक्ष नहुँदै सोही गाउँपालिकामा अस्पताल बनाउने नाममा बिना भरपाइ करौडौँ रूपमा उठाएको आरोप लागेको थियो । गाउँपालिका अध्यक्ष बन्ने बित्तिकै एक लाख मूल्य पनि नपर्ने एउटा एलइडी बोर्डका लागि ६ लाख तिरेको बिल सार्वजनिक भएपछि उनी थप विवादित बनेका थिए ।

अधिकारीले कर्मचारीलाई लेखेको पत्र ।

देशकै सबैभन्दा बढी पटक अर्थमन्त्री भएका डा रामशरण महतलाई सोही पालिकामा लगेर तीन क्वाल पाइपको अघि राखेर तस्बिर खिचाउन सफल अधिकारी चन्दा संकलनमा माहिर मानिन्छन । तारूकाको गोरू जात्राका नाममा विगतदेखि चन्दा संकलन गर्ने प्रमुख दुई पात्र मध्येमा एक रहेका अधिकारीले यस पटक गाउँपालिकाको कोषबाटै ८ लाख रूपैयाँ कुम्ल्याए ।

स्थानीय जनप्रतिनिधिको रोहरविना नेपाली कांग्रेस निकटका केही व्यक्तिहरूको अबैध समिति बनाए उनले ८ लाख रूपैयाँ निकासा गराए । सम्बन्धित वडा अध्यक्ष र सदस्यहरूको सहमति र उपस्थितिबिनै एउटा कोठामा बनाएको समितिलाई गोरू जात्रा समितिको नाम दिएर अधिकारीले ८ लाख निकासा गराएका हुन ।

यो पनि पढ्नुहोस्

नुवाकोट तारुकाको गोरुजात्रा कांग्रेसको कब्जामा, बिचाैलियाका ब्यानरमा रोक लगाउने तयारी

गोरू जात्राका नाममा गाउँपालिकाबाट निकासा भएको यो अहिलेसम्मकै ठूलो रकम हो । सामान्यतया गाउँपालिका कर्मचारीले उठाएको टिप्पणीमा सदर गर्ने र बाह्य पत्राचार वा महत्वपूर्ण विषयमा मात्र पत्राचार गर्ने गाउँपालिका अध्यक्षले पालिकाकै प्रमुख प्रशासकीय अधिकृतलाई आफैँले पत्र लेख्न लगाएर ८ लाख निकासाका लागि दबाब दिए ।

उनले ८ लाख रूपैयाँ जिम्मेवारी आफू स्वयंले लिने पनि पत्रमा उल्लेख गरेका छन । जबकी सम्बन्धित जनप्रतिनिधि समेत रहेका वडा नम्बर २ का वडा अध्यक्ष शिव पनेरूले पुस २० गते लेटरप्याडको प्रयोग नै गरेर बैधानिक भेला गरी समिति गठनका लागि प्रमुख अधिकारीलाई पत्र लेखेका थिए । तर चोरबाटोबाट कमिसन खान पल्केका अधिकारीले सोही मितिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेर अबैध समितिका नाममा तत्काल भुक्तानी गर्न अनुरोध गरे । यसले उनको नियत प्रष्ट भएको छ ।

माघ १ र २ गते भएको गोरू जात्राका बारेमा स्थानीयले अनेक टिप्पणी गरिरहेका छन । अधिकारी भने गाउँपालिकाबाट एक घण्टाको बाटोमा रहेको गोरू महोत्सव हेर्न नुवाकोटबाट काठमाडौँ आएर हेलिकप्टर लिएर तारूका पुगेका थिए । उनको त्यस गतिबिधिको पनि आलोचना भैरहेको छ ।

२ नम्बर वडाका अध्यक्ष शिव पनेरूले गाउँपालिका अध्यक्ष अधिकारीलाई लेखेको पत्र ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०९:४४