७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छुः अर्थमन्त्री पौडेल


४ माघ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र कसरी समस्यामा पर्यो भनेर अध्यन गर्ने काम भइरहेको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्र: अबको बाटो’ विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले पुस ११ गते अर्थमन्त्रीमा नियुक्त भएदेखि आजसम्म अर्थतन्त्र कसरी समस्यामा पुग्यो भन्नेबारे आफूले सुक्ष्म अध्यन गरिरहेकाे र अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै सुधार ल्याउने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले भूकम्पले ढाल्न नसकेको, नाकाबन्दीले झुकाउन नसकेको र कोभिड-१९ को पनि सामान गरेको अर्थतन्त्र किन चिन्ताजनक अवस्थामा पुग्यो भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘भूकम्पले ढाल्न नसकेको नेपाली अर्थतन्त्र, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले किन चिन्ताजनक अवस्थामा छ ?’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलटको खोजी भइरहेको छ ? किन अर्थतन्त्रको इन्जिनको जाँच गर्ने कुरा गरिरहेका छौँ ?’

यो समस्या यही रुपमा रहन दिनु हुँदैन । अर्थतन्त्रमा देखिएका समस्याका विरुद्ध सार्थक र निर्णायक प्रहार गर्ने योजनामा छु,’ अर्थमन्त्रीले भने, ‘समाधानका उपाय अगाडि सारेर अर्थतन्त्रलाई अगाडि बढाउने छु । राजस्व परिचालनको चिन्ताजनक अवस्था कसरी समाधान गर्ने ? करको दायर बढाउने, राजस्व प्रशासनमा सुधार र माग बढाउने बारे अध्ययन गर्दैछु ।’ खर्चमा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताउँदै उनले पूँजीगत खर्च बढाउन प्रभावकारी प्रयास गर्ने बताए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १७:०४