१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

वनमा वृक्षारोपण

-भोला खतिवडा

एक मित्रले ‘वृक्षारोपण कहाँ, कति, के के, कसरी, कस्ले, किन भयो होला’ भन्ने जिज्ञासा राख्नु भयो । अर्को साथीले प्वाक्कै भन्नु भयो ‘क को ठाउँमा ज राखेर उत्तर खोजेमा सजिलो हुन्छ ।’ अर्थात जहाँ, जती, जे, जसरी, जस्ले पनि भन्ने शव्दावली बन्दोरहेछ । नेपालमा वृक्षारोपणको अवस्था त्यही भैरहेको देखिन्छ । नेपालमा कति विरुवा रोपियो होला ? अनी कति क्षेत्रमा ? के के को विरुवा रोपियो होला ? कस्ले रोप्यो होला ? भन्ने सन्दर्भमा सहि आंकडा सायदै पाइएला । गुगलमा भेटिएला कि भनी खोजीयो । एकमुष्ट भेट्न सकिएन ।

हामीलाई वृक्षारोपण भन्ने शव्दावली नौलो हुँदै होइन । वन भन्नासाथ वृक्षारोपण वुझ्ने गरिन्छ । कहिलेकांही त लाग्छ वनमा हामीले गर्न जानेकै भनेको वृक्षारोपण हो । सामुदायिक वन दिवस होस् वा वातावरण दिवस होस् वा अन्य दिवस हुन् वृक्षारोपण नैं गर्ने धेरै चलन छ । २०७५ असार ३ गतेका दिन नेपाल सरकार मन्त्री स्तरीय निर्णयवाट असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ भनी घोषणा गरेको छ । त्यती मात्र होइन, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सञ्चालनको सन्दर्भमा रुख कटान गर्नु पर्ने अवस्था आएका १ रुख कटान गरे वरावर २५ वटा विरुवा रोप्नु पर्ने भन्ने कानूनी व्यवस्था पनि छ । यी व्यवस्थाहरुवाट पुष्टि हुन्छ कि नेपालले वृक्षारोपणलाई कति महत्व दिएको छ भन्ने कुरा ।

माथिको विषय मथिंगलमा चलिरहेको वेलामा वृक्षारोपणको महत्व तथा सान्दर्भिकताका बारेमा अनुसन्धान गर्ने टोलीसँग भेट भयो । भेटमात्र होइन त्यो टोलीसँग दोलखामा २ वटा सामुदायिक वनहरुमा भ्रमण गर्ने र उपभोक्ताहरुसँग अन्तरक्रिया गर्ने मौका मिल्यो । यस टोलीले नेपाल र भारतमा वृक्षारोपणको सान्दर्भिकताको वारेमा अध्ययन गर्ने कार्यक्रम रहेछ । साउथ एसिया इन्सीच्यूट अफ एडभान्स स्टडिजका डा. दिल वहादुर खत्री, स्वीडिस यूनिभर्सिटी अफ एग्रिकल्चर साइन्सका डा. ह्यारी फिसर, भारत स्थीत अशोका विश्वविद्यालयका डा मेघना अग्रवाल लगायतका व्यक्तिहरुको एक टोली थियो ।

टोलीले भीमेश्वर नगरपालिका भित्र पर्ने भितेरी सामुदायिक वन र सुस्पा सामुदायिक वनमा पुगी अन्तरक्रिया ग¥यो । यी दुवै सामुदायिक वन क्षेत्रमा धेरै वृक्षारोपण गरिएको थियो । सामुदायिक वन हुनु अघि अर्थात आज भन्दा ४० वर्ष भन्दा पहिला नैं वृक्षारोपण भएको थियो । र अहिले पनि वृक्षारोपण भैरहेको छ । यी सामुदायिक वनले ओगटेको क्षेत्रफलको झण्डै ४० प्रतिशत भूमिमा वृक्षारोपण भएको होला भन्ने अनुमान उपभोक्ताको रहेको छ ।

४० वर्ष अघि वृक्षारोपण कसरी संभव भयो ? भन्ने अनुसन्धानकर्ताको प्रश्नमा उपभोक्ताले सहजरुपमा ‘स्वीसले गरिएको दिएको’ भन्ने उत्तर दिए । नाँगा डाँडा भए पछि वृक्षारोपण गरियो । त्यस वेलामा स्वीजरलैण्ड सरकारको परियोजना दोलखा र सिन्धुपाल्चोकमा चलेको थियो । सो परियोजनाले दोलखामा विभिन्न नाँगा पाखामा वृक्षारोपण गरिदियो । त्यतीखेर हरियाली वढाउनु मात्रै प्राथमिकता थियो । त्यसैले सल्लाको विरुवा रोपियो । सायद स्थानीय वासिन्दासँग छलफल गरेर कुन विरुवा रोप्ने भनेको भए सल्ला भन्ने थिएनन् होला । तर सजिलै हुर्कन सक्ने, गाइवस्तुले पनि खासै नोक्सानी नपु¥याउने भएकोले सल्ला प्रजाती रोजियो होला भन्ने अनुमान छ । जे होस् हरियाली वढाउनमा यो अभ्यास फलदायी नैं देखियो ।

हामीले भ्रमण गरेका २ वटै सामुदायिक वन कुनै वेलाका सशक्त सामुदायिक वन हुन् । क्षेत्रफलका हिसावले पनि ठुलो छ अनी घरधुरी आवद्धताको हिसावले पनि धेरै छन् । आज भन्दा १५ वर्ष अघि तिरको अवस्था संझने हो भने आम्दानी पनि राम्रो हुने समूह पर्दछन् । यी दुवै समूहले समूह वाहिर पनि काठ वेची आम्दानी गर्ने गर्दथ्ये । तर अहिले यो अवस्था भेटिएन । नभेटिनुको अर्थ काठ नभएर होइन, सरकारी प्रकृया झन्झटीलो भएर हो रे । सुस्पा सामुदायिक वनको आमभेलाले ढलापडा काठ संकलन गर्ने भनेर निर्णय गरेछ ।

सो निर्णय कार्यान्वयन गर्ने भनी वन कार्यालयमा पत्राचार ग¥यो तर त्यहाँवाट ७,८ पटक कोसिस गर्दा पनि अनुगमन टोली आएन । अनी संकलन गर्न सकिएन । अझै पनि ती रुखहरु वनमा नैं सडेर गएको छ रे । यस्तो काठ कति होला त भन्ने प्रश्नमा २ हजार ५ सय क्यूविक फिट होला भन्ने अनुमान उपभोक्ताको छ । सम्ूह भित्र खपतको लागि पनि वन कार्यालयको अनुमती लिनु पर्ने अनी समूह वाहिर विक्रि गर्न त महाभारत प्रकृया छ हामी पूरा गर्न नैं सक्दैनौ भन्ने नमिठो अनुभव त्यस समूहका अध्यक्ष बालकुमार थामीको रहेको छ ।

सामुदायिक वनमा अहिले पनि वृक्षारोपण भैरहेको छ । अधिकांश सामुदायिक वनका उपभोक्ताहरु सल्ला रोप्न चाहादैनन् तर अहिले पनि त्यही रोप्ने गरेको भेटियो । किन ? ज्ञिजासा हुने नैं भयो । भितेरी सामुदायिक वनका अध्यक्ष ज्ञान वहादुर तामाङको जवाफ ‘हामीले डालेघाँसको विरुवा रोप्न खोजेको तर हामीलाई यसमा सहयोग गर्ने वृक्षारोपण पहल नेपाल भन्ने संस्थाले सल्लाको विरुवाको नर्सरी वनाइदियो अनी त्यही रोपियो ।’ त्यस सामुदायिक वनको क्षेत्र भित्र रहेको हाइटेक नर्सरीमा सल्लाका विरुवाहरु रहेको पाइयो ।

यसमा सहयोग गर्ने संस्थाले विरुवा उत्पादनमा र रोपन कार्यमा पनि सहयोग गर्ने भएकोले उपभोक्ता लाचारी रहेको देखियो । तर पछिल्लो अवधीमा डालेघाँसको विरुवमा पनि नर्सरीमा उत्पादन गर्न थालेको भेटियो । अब चाँही केही सुधार हुन्छ की भन्ने आशा गर्न सकिन्छ । पानीको मुहान क्षेत्रमा उत्तिसको विरुवा रोपेको भनि भेटियो । सल्लाले पानीको मुहान सुकाउँछ भन्ने आम उपभोक्ताको वुझाइ रहेको पाइन्छ ।

नेपाल र भारतमा गरिएको वृक्षारोपणको सान्दर्भिकताको अध्ययनको नतिजा कस्तो आउला कुर्नुको विकल्प छैन । नेपालको सन्दर्भमा अझ दोलखाको सन्दर्भमा, सुरु सुरुमा हरियाली वढाउनु प्राथमिक काम थियो । त्यसैले जेसुकै भए पनि विरुवा रोपियो । अहिले हरियाली वढाउन समस्या रहेन । अव वहुउपयोगी विरुवा लगाउन आवश्यक छ । सायद उपभोक्तासँग परामर्श गर्ने हो भने वा उनीहरुलाई निर्णय गर्न दियो भने सायदै सल्ला प्रजाती छनौट गर्नेछन् । उनीहरु सल्ला प्रजाती हटाएर चौडा पाते खास गरी डालेघाँसको विरुवा लगाउन चाहान्छन् तर अहिलेको काठ कटाउन वा हटाउन प्रशासनिक झन्झट वाधक देखिन्छ ।

ढलि सकेका र परिपक्व भएको रुखहरु हटाउने र उपभोक्ताको चाहानमा वहुउपयोगी विरुवा लगाउने वा पुर्नउत्पादन हुने वातावरण तयार गर्न सकिन्छ । अहिले भएकै प्रजातीको लागि नयाँ विरुवा रोप्नु पर्दछ जस्तो देखिन्न । पुर्नउत्पादनको व्यवस्थापन मिलाउन सके पुग्दछ तर वहुउपयोगी तथा वहुमूल्य विरुवा भने रोप्नु पनि पर्ला । यसमा उपभोक्ताको निर्णायक भूमिका र वन प्राविधिकहरुको सहजिकरण आवश्यक पर्दछ । स्रोतहरुको अधिकतम् सदुपयोग र वृक्षारोपणको सान्दर्भिकताको वारेमा अधिकारवाला तथा सरोकारवालाको ध्यान जान आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २१:०७

UniversityCollege.com