७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रचण्डको भूमिका शंकास्पद देखिएपछि बिहानै बालुवाटार छिरे ओली, राष्ट्रपतिमा भारतको चासो


३० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन । पाँच वर्षअघि यही समयमा प्रचण्ड दिनहुँजसो ओली भेट्न यसैगरी बालुवाटार पुग्ने गरेका थिए । तर अहिले ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि निरन्तर बालुवाटार धाइरहेका छन ।

सत्तासाझेदार दलहरूको बीचमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सपथ खाएर पनि चार मन्त्रीले जिम्मेवारी नपाएपछि घामतापेर दिन कटाउनु परिरहेको छ । सुविधाजनक बहुमतसँगै करिब दुई तिहाइको समर्थन प्राप्त हुँदाहुँदै देउवा निवासका अन्य कांग्रेस नेताहरू समेत साक्षी राखेर प्रचण्डले समर्थन लिएपछि सत्ता गठबन्धनभित्र खटपट देखिएको छ । बाहिर सार्वजनिक रूपमा असन्तुष्टि बनेर नआए पनि एक अर्काप्रतिको शंकाको नजर बढेको छ ।

शनिबार बिहान बालुवाटारमा प्रचण्ड र ओलीको बीचमा मन्त्रिपरिषद्को पूर्णता, सभामुख, उपसभामुख निर्वाचनलगायतमा छलफल भएको छ । मन्त्रिपरिषद्को पूर्णताका बारेमा दुई नेताको बीचमा सहमति भएको भनिए पनि सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । मन्त्रिपरिषद् अझै १७ जना थप्न मिल्ने छ तर थपिएका चार जना अहिले पनि घामैमात्र तापेर दिन कटाइरहेका छन ।

माघ ५ मा सभामुखको निर्वाचनको मिति तोकीसकिएको छ भने निर्वाचन आयोगले फागुनसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्ने जनाएको छ । तर पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्तासाझेदार दलहरूको बीचमा असहमतिको संकेतहरू देखिएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएको अर्को दिननै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएको सत्ता गठबन्धनले अहिलेसम्म नियुक्त भएका मन्त्रीलाई समेत जिम्मेवारी दिन सकेको छैन ।

भारतले आफ्नो अनुकुल अनुसारको सत्तागठबन्धन नभए पनि राष्ट्रपतिमा कम्फर्टेबल व्यक्ति ल्याउन दौडधुप गरिरहेको छ । त्यसका लागि उसले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर मध्ये एकलाई राष्ट्रपति बनाउन चाहेको बुझिएको छ । यो खेल तीव्र बनेको जानकारी पाएका नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शनिबार बिहान सामाजिक सञ्जाल मार्फत सांकेतिक रूपमा राष्ट्रपति एमलेबाटै हुने दाबी गरेका छन ।

रिजालले भनेका छन, ‘प्रतिनिधिसभामा सबै गैरकम्युनिस्ट दलले कम्युनिस्ट नेतृत्वको सरकारलाई विश्वासको मत दिनु नेपालमा कम्युनिस्टहरुको सर्वस्वीकार्यता बढ्नु हो । कम्युनिस्ट प्रधानमन्त्रीले सम्पूर्ण मत पाइसकेपछि अब कम्युनिस्ट नेता नै राष्ट्रपति हुने सुनिश्चित छ । संसद्, संघ, प्रदेश– सबैतिर पुनः कम्युनिस्टहरु नेतृत्वमा आएका छन् । पहिले फुत्किए पनि परिस्थितिले फेरि हामीलाई अवसर दिएको छ । मुलुकको समृद्धि र विकासको सपना साकार पार्दै जनताको विश्वास जित्ने यस अपूर्व अवसरलाई खेर जान दिएमा सायद इतिहासले माफ गर्ने छैन ।’

राष्ट्रपति र सभामुख एमालेका लागि दिने विषयमा यसअघि सत्ता गठबन्धनका तदलहरूको बीचमा सहमति भैसकेको छ । तर त्यो कार्यान्वयमा विभिन्न शंकाहरू जन्मदिएका छन ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार १२:०४