८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माघे संक्रान्ती मनाउने हैन त एडिलेडमा


२६ पुस, एडिलेड । नेपाली समुदायका विचमा माघ १ अर्थात माघे संक्रान्ती पर्व विषेश महत्व राख्दछ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । विभिन्न जाति समुदायले विभिन्न नाम विशेषमा माघे संक्रान्ती मनाउने गर्छन् । यो दिन मगर थारु नेवार व्राहमण क्षेत्री समुदायका विशेष चाड जसलाई सिङ्गो नेपाली समुदायले हर्ष उल्लासका मनाउने गर्दै आएका छन् ।

मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ। यस पर्वको अवसरमा मगर समुदायका मानिस सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ। यहि क्रममा माघ १ अर्थात जनवरी १५ मा एडिलेडमा मगर समाज अष्ट्रेलियाले माघे संक्रान्ती-२०२३ मनाउने भएको छ ।

स्थानिय थेवाटन कम्युनिटी सेन्टरमा आयोजनामा दिनको चार बजेबाट विशेष कार्यक्रम आयोजना हुने मगर समाज साउथ अष्ट्रेलियाका अध्यक्ष गोविन्द रानाले बताए । रानाले प्रख्यात कौरा नाच सहित विभिन्न नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम हुने बताए । उनले कार्यक्रममा नेपाली खानाको समेत स्वाद लिनपाइने बताए ।

प्रवेश नि शुल्क रहेको कार्यक्रममा आफ्ना बालबालिका सहित उपस्थित भएर नेपाली संस्कृति र संस्कार बारेमा प्रत्यक्ष साक्षात्कार गर्न र गराउन हुन अध्यक्ष रानाले अनुरोध गरेका छन् । उनले प्रवासमा नेपाली परिचय बनेका सांस्कृतिक पक्षका बारेमा हुर्केका बालबालिकाहरु बढि भन्दा बढि जानकारी दिन आवश्यक रहेको समेत बताए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:२२