७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मलेसियामा बन्धक बनाइएका १३ जना नेपालीको उद्धार, ६ जना भोलि स्वदेश फर्किँदै


२५ पुस, काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरुको अवस्था बुझेर तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो । बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन ।

लेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार,हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् । मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १२:४९