१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023

विद्यार्थी संगठन खारेजीको आवाज, स्ववियु निर्वाचन र अनेरास्ववियुको कार्यभार

-कमल जोशी 

राजनीतिको नेतृत्वको नर्सरी मानिएको विद्यार्थी आन्दोलन पछिल्लो एक दशक यता शिथिल बनेको छ । यसको मुल कारण भनेको विद्यार्थी संगठनहरू भित्रको आन्तरिक लोकतन्त्र । संगठको नेतृत्वमा इलेक्सन छाडेर सेलेक्सनको माध्यमबाट आउनेक्रम बढेको छ ।

यसले समग्र आन्दोलन नै विद्यार्थी र तीनको एजेण्डा भन्दा पनि नेतृत्वको चाकरी गर्ने र सत्ताको भक्तिगानमा सीमित हुने अवस्थामा पुगेको छ । कुनै समय विद्यार्थी अभियान भनेको प्रतिपक्षी अभियानको रूपमा चित्रित भएको थियो । त्यसको नेतृत्व विद्यार्थी आन्दोलनको नेता संगठन अनेरास्ववियुले गरेको थियो भन्दा आज सोही संगठनको नेताको हैसियतमा नाम लिन पाउँदा गर्वले छाती फुल्छ ।

तर आजको तिनमा राजनीतिक नेतृत्वको नर्सरी मानिने तीनै विद्यार्थी संगठनहरूमा आन्तरिक लोकतन्त्र समाप्त हुने चरणमा पुगेका छन । विद्यार्थी नेताहरूले समेत नेताहरूको जस्तो चाकरी अपेक्षा गर्ने र विलाशी जीवनमा रमाउने गरेका छन । विद्यार्थी नेताहरू विद्यार्थीसँग भन्दा पार्टी नेता को दैलोमा बढी भेटिने गरेका छन । जसका कारण क्याम्पस पढ्ने विद्यार्थीहरूमा ठूला भनिएका कांग्रेस, एमाले र माओवादी लगायतका दलप्रति वितृष्णा बढेको छ ।

यो कुरा आजको दिनसम्म विद्यार्थी संगठनका नेतृत्वहरूले महसुस गर्न पनि सकिरहेका छैनन्, जुन गम्भीर विषय हो । विद्यार्थी नेताहरू पद र आर्थिक लालचामा पर्दा सांसद र मन्त्रीको स्वकीय सचिव बन्नमै हानाथाप हुन थालेको छ। यसरी हेर्दा विद्यार्थी नेताहरूमा विद्यार्थी र विश्वविद्यालयको भन्दा आफ्नो पद र पोजिसनको चिन्ता बढेको छ ।

विद्यार्थी संगठनको नेतृत्वहरू विकृतिको भासमा परेपछि बाहिरबाट खारेजीको आवाज उठ्न थालेको छ । यो चिन्ताको विषय हो । यद्यपी यस्ता आवाजहरू चर्को रूपमा उठ्दा पनि विद्यार्थी नेतृत्वमा भने गम्भीरता नदेखिनु झन चिन्ताको विषय बनेको छ ।

यदि बाहिरबाट चर्को रूपमा उठेको आवजजस्तै गरी विद्यार्थी संगठनहरू खारेजीको अवस्थामा पुगेभने कांग्रेस, एमाले र माओवादी लगायतका दलको भविष्य समेत सोचनीय बन्नेमा कुनै शंका छैन । किनकी दलहरू अहिले विचार सिद्धान्त छाडेर बाटो बिराएर अघि बढीरहेका छन । अब सुधारका लागि नसोच्ने हो भने विगतमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापति भएका नेताहरू समेत मुल राजनीतिको किनारामा साक्षीको रूपमा मात्र बस्नुनपर्ला भन्नुछैन् ।

विद्यार्थी संगठनको भूमिका प्रभावकारी नहुँदा निजी शिक्षण संस्थाहरूले अभिभावकहरूमाथि ब्रम्हलुट मच्चाइरहेका छन । अन्य शैक्षिक संस्था, मेडिकल माफिया र व्यापारीहरुले अहिले शिक्षामा नीति बनाउनेदेखि शुल्यकवृद्धि गरेर निरन्तर गरिब जनताको ढाड सेक्ने काम गरिरहेका छन ।

अहिले विद्यार्थीहरुले पाइरहेका सेवा सुविधाहरू यात्रा गर्दा सवारीहरुमा ४५ प्रतिशत छुट, सरकारी क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले बिरामी पर्दा त्रिवि शिक्षण अस्पताल, वीर जस्ता अस्पतालमा उपचार गर्दा पाउने छुट, गरिब र जेहेन्दार विद्यार्थीहरूले पाउने छुट, विद्यार्थीले अनुसन्धानका लागि पाउने अनुदान, बैंकबाट शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण लगायतका विषयको कार्यान्वयन अहिले त्यति प्रभावकारी हुन सकेको छैन ।

नेपालका विश्वविद्यालयमा भन्दा कमजोर शिक्षा दिने पान पसलजस्ता कलेजहरूले विदेशी विश्वविद्यालयको सम्बन्धनका नाममा प्रमाणपत्र बेचिरहेका छन । तर यसतर्फ न राज्य न त विद्यार्थी संगठन नै गम्भीर बनेको देखिन्छ । विद्यार्थी र अभिभावहरू बेलायत र अष्ट्रेलियाका विश्वविद्यालयका नाममा लुटिइरहेका छन ।

यी र यस्तै परिप्रेक्ष्यमा त्रिभुवन विश्वविद्यालयले फागुन २८ मा स्वावियु निर्वाचन गर्ने बहस चलाएर महत्वपूर्ण काम गरेको छ । यसले मुर्छित बनेको विद्यार्थी आन्दोलन व्यूझिँने बाटोमा पुगेको छ । यसमा अब अनेरास्ववियूको अभिभार महत्वपूर्ण रहेको छ । विगतको इतिहासलाई निरन्तरता दिने हो भने अनेरास्ववियूले संगठन सुदृढिकरण गरेर अघि बढ्नुपर्छ त्यसका लागि नेतृत्वले सबै कुरा बिर्सिएर अघि बढ्नु आजको आवश्यकता हो।

जोशी अनेरास्ववियुका नेता हुन । 

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार २०:५६

UniversityCollege.com