१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

फिफा वरीयतामा नेपालकाे सुधार, एक स्थान माथि उक्लँदै १६०औँ  स्थानमा 


४ असाेज, काठमाडौँ । फिफा वरीयतामा नेपालको अवस्थामा सुधार अाएकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार आएको हो ।

फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७आैँ र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौं स्थानमा उरुग्वे रहेको छ । यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरीयता सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहीबार १९:०९