७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

किन भेटे गठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले प्रचण्डलाई ?


१९ मंसिर, काठमाडौं । चुनावको समीक्षा गर्न सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घन्टा ढिलो गरी सुरू भएको हो ।

निर्वाचनपछि पहिलोपटक सत्तारुढ दलको बैठक बसेको हो । आजको बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनको विषयमा छलफल गर्ने मुख्य एजेण्डा रहेको नेताहरूले बताएका छन् ।

बालुवाटार बैठकमा जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । दुवैबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गरेका छन् । महासेठ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

केही दिनअघि ओलीले फोन गरी प्रचण्डलाई सांसद जितेकोमा बधाई दिँदै सहकार्यको प्रस्ताव गरेका थिए । त्यसपछि एमाले र माओवादीबीच फेरि सत्ता समीकरणको चर्चा सुरु भएको हो । बालुवाटार बैठकमा जानुअघि प्रचण्डको माधव नेपाल र रघुवीर महासेठबीच भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १६:४९