१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

सवारी दुर्घटना बढेपछि पाँच स्थानमा प्रहरी बिट थपिँदै


१९ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो ।

एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा विभिन्न निर्णय गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जनकारी दिए ।

“बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिकातर्फ एउटै रुट हुँदै चल्ने सवारी साधनलाई बिहानदेखि बेलुकासम्मको अवधिमा जाँच गर्न मुण्डे, कुमसोत, बोझा पोखरी, कोखे र देवीथानमा चेकपोष्ट स्थापना गरिएको छ”, उनले भने, “कालिगण्डकी करिडोरअन्तर्गत पाल्पाको सिमाना रकुवा, थामबेँसी र ढोडेनीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि स्थलगत अनुगमन गरिएको छ ।”

पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णय गरिएको छ । त्यसैगरी नगरपालिका तथा गाउँपालिकाभित्र रहेका सडकको स्थानीय पालिका र सडक डिभिजन कार्यालयले नियमति सडक मर्मत सम्भारको व्यवस्था मिलाउने निर्णय गरिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताए ।

ग्रामीण सडकमा चल्ने सवारी साधनको भाडा मनपर्दो रहेको गुनासो आएकाले जिल्ला यातायात व्यवस्था कार्यालयले उपसमिति बनाइ भाडा निर्धारण, बाटो इजाजतपत्र लगायतका विषयमा नियमन गर्ने भएको छ । ग्रामीण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापनाका साथै स्थानीय प्रतिनिधिसँग अन्तक्र्रिया गरी तयारी थालिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।

कालीगण्डकी करिडोरअन्तर्गत बुलिङटारमा गत कात्तिक १५ गते भएको सवारी दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । सो दुर्घटनाको एक महिनापछि धौवादीमा गत मङ्सिर १५ गते सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १६:४०