१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आर्यन सिग्देलको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै


१५ मंसिर, काठमाडौं । बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् ।

‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ । हामीलाई फिल्म निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भने ।
पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाली–इन्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् । उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुष्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपश्चात उनी यसमा व्यस्त हुनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १३:२०