६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

अर्घाखाँची र पर्वतपछि धनकुटामा पनि गठबन्धनलाई सोत्तरपार्दै एमालेका सबै उम्मेदवार विजयी


८ मंसिर, काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाको तीनवटै सिटमा बिजय हाँसिल गर्दै सत्ता गठबन्धनलाई ’क्लिनस्वीप’ गरेको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको धनकुटा जिल्लामा एमालेले सबै स्थानमा जीत हात पारेको हो । निर्वाचनमा ह्याट्रिक भिडन्त गर्नुभएका एमाले केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३ सय ९७ मतान्तरले पछि पार्दै बिजयी बन्नुभयो ।

राई ३० हजार १०१ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका थापाले २८ हजार ७ सय ४ मत प्राप्त गर्नुभयो । २०७० र २०७४ को निर्वाचनमा समेत दुवै जना प्रतिस्पर्धी हुनुहुन्थ्यो । २०७० मा थापाले जित हात पार्नुभएको थियो भने २०७४ मा राई विजयी हुनुभएको थियो ।

यस्तै, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्यागेर स्वतन्त्र उम्मेदवार बन्नुभएका हेमराज भण्डारी तेस्रो स्थानमा रहनुभयो । उहाँले ५ हजार ९ सय २६ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभा क मा एमालेका निरन राई र प्रदेशसभा ख मा एमालेकै इन्द्रमणी पराजुली विजयी हुनुभएको छ ।

धनकुटामा कुल मतदातामध्ये १ लाख १६ हजार ९ सय ९१ मध्ये ६९ हजार ४ सय ९६ अर्थात् ५९ दशमलव ४० प्रतिशत मत खसेको थियो । यसअघि नै एमालेले अर्घाखाँची र पर्वतमा पनि सवै सिट जितेर ‘क्लिनस्वीप’ गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १९:००