६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्दार


८ मंसिर, बाली । इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा आफ्नो भत्किएको घरको भग्नावशेषबाट एक छ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन् । अजका मौलाना मलिक नाम गरेको ती बालक दुई दिनदेखि फँसेका थिए । उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए ।

स्थानीय दमकल विभागले अनलाइन सेयर गरेको भिडियोमा उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा उठाएपछि उनी शान्त देखिन्छन । ‘अजका अहिले ठीक छन् । उनलाई चोट लागेको छैन । उनी भोकाएकोले कमजोर मात्र भएको डाक्टरले बताएका छन्,’ भूकम्पले क्षतिग्रस्त अस्पतालबाहिर राखिएको पालमा अजकाको हात समात्दै आफन्त सलमान अल्फारिसीले भने ।

तर उनकी आमा भने सोमबारको भूकम्पमा मारिएकी थिइन् । ‘उनी घरमा जान चाहन्छन् । सँगै सुत्न उनले आमालाई सोधिरहेका छन्’ अल्फारिसीले भने ।

५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएका छन् । भूकम्पछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ । सन् २०१८ मा गएको भूकम्पमा २ हजार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ११:२८