४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष केपी शर्मा ओली संसद् प्रवेश गर्दै


-कालिका खड्का

७ मंसिर, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब उहाँले छैटाँै पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश गर्नुहुनेछ ।

अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गर्नुभयो । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गर्नुभएको हो ।

दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गर्नुभएको थियो । विसं २०२९ मा झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन व्यतित गर्नुभएको थियो । उहाँ २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय हुनुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख भएर काम गर्नुभएको थियो । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष भएर काम गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीे २०४७ सालमा नेकपा (एमाले) को स्थायी समिति सदस्य बन्नुभएको थियो ।

ओली २०७१ सालमा एमालेको अध्यक्ष बन्नुभएको थियो भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बन्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उहाँले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो । ओली सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित हुनुभएको थियो भने अहिले उहाँ झापा–५ बाट विजय हुनुभएको छ ।

एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो ।

पाँच दशकदेखि राजनीतिमा सक्रियरूपमा रहनुभएका एमाले अध्यक्ष ओली तत्कालीन नेकपा (माले) का संस्थापक नेतामध्ये एक हुनुहुन्छ । दोस्रो पटक मुलुकको कार्यकारी नेतृत्वमा रहनुभएका उहाँ स्पष्ट अडान राख्ने नेताका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । अध्यक्ष ओलीको विकास र राजनीतिक दृष्टिकोण समेटिएको पुस्तकसमेत प्रकाशित छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २३:०८