७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

–श्रीरामसिंह बस्नेत
त्यसो त उसलाई पनि बिहे गर्न रहर नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाइको विवाह धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन ।

उमेरले ऊ भाइभन्दा चार वर्ष जेठो छ । तर उसको शारीरिक अपाङ्गताले गर्दा विवाहका लागि ऊ योग्य मानिएन, उसको पालो आएन र तन्दुरूस्त भाइको विवाह भयो । जन्मेको केही समय देखिनै उसका खुट्टाले धोका दिए । ऊ राम्ररी हिँड्न सक्दैन । मुस्किलले घरको तलमाथि गर्छ । एक ठाउँबाट अर्को ठाउँमा जाँदा उसले हातबाटै खुट्टाको समेत काम लिनुपर्ने हुन्छ । त्यसैले ऊ प्रायः आफ्नो कोठाको झ्यालमै बसेर बाहिरी संसारलाई नियाल्ने गर्दछ । झ्यालबाट र कौसीबाट देखिने भन्दा बढी संसार हेर्न टेलिभिजन नै उसको एक मात्र सहारा छ ।

भाइको बिहे गर्ने निर्णय भएदेखि यस घरको वातावरण नै फरक भएको छ । उसका मामाघरदेखि फुपूघरसम्मका सबैजसो नातेदारहरु घरमा जम्मा भएका छन् । छिमेकीहरु पनि छन् । भाइका साथीहरुको बेग्लै फुर्तीफार्ती छ । उसले करिब तीस वर्षको जिन्दगानीमा आफ्नो घरमा यस्तो चहलपहलको वातावरण यसअघि कहिल्यै देखेको थिएन ।

विवाहका लागि घरमा आएका नातेदारहरुमा कोही कोहीमात्र उसको कोठामा पनि आउँछन् । केहीबेर बसेर जान्छन् । धेरैबेर बसेर ऊसँग कुरा गर्न कसैलाई पनि त्यति मन लाग्दैन । किनकि उसको बोली पनि त्यति प्रष्ट छैन ।

अहिले ऊ सोचिरहेको छ – यदि मेरा खुट्टा सद्दे भइदिएका भए भाइको सट्टा मेरो बिहे हुन्थ्यो । म दुलहा बन्थेँ । कस्ती हुन्थी होली मेरी दुलही ? म पनि आफैँले रोजेर बिहे गर्थेँ । म त मोटी केटी बिहे गर्दिनथेँ । जिउ सलक्क परेकी छरिती केटी बिहे गर्थेँ । अँ कपाल लामो भएकी केटी छान्थेँ । भाइकी दुलही कस्ती होली ? मोटी पो छ कि ? उसका यी मीठा कल्पना कल्पनैमा सीमित रहे ।

उसका खुट्टा सग्ला नभए पनि हात र दिमाग सग्ला भएकाले पढ्ने, लेख्ने, टिभी हेर्ने, रेडियो सुन्ने आदि कर्ममै उसका दिन बित्ने गरेका छन् । पहिला सानो हुँदा त उसको भाइले उसलाई प्रायः छोड्दैनथ्यो । ऊ स्कुल जान्थ्यो र हरेक दिन स्कुलमा पढेको कुरा दाजुलाई आएर बताउँथ्यो, सिकाउँथ्यो । बाहिरका अनेक कुराहरु घर बाहिर जान नसक्ने दाजुलाई बताउँथ्यो । उसले यति लेखपढ गर्नसक्ने, कुरो बुझ्न सक्ने भएको भाइकै मद्दतले हो । तर भाइ ठूलो हुँदै गयो, व्यस्त हुँदै गयो, अनि उसले अशक्त दाजुलाई दिने समय पनि क्रमशः घट्दै गयो । अब त भाइ हप्ताको एक दिन शनिबार मात्र एक क्षण उसको कोठामा आउँछ र आठ दश मिनेट बसेर हिँडिहाल्छ । भाइसँग दुरी बढ्दै गएकोमा उसलाई नमीठो त लागेको छ तर उसले भाइलाई दोष दिएको छैन, वास्तविकता उसले बुझेको छ ।

हरेक दिन उसको कोठामा घरीघरी आउने र उसको पूरा हेरविचार गर्ने काम पहिलेदेखि अहिलेसम्म उसकी आमाले गर्ने गरेकी छिन् । उसलाई आफ्नो प्राण आमाकै भरमा मात्र अडिरहेको छ जस्तो लाग्छ । आमा नभएको भए त ऊ पहिल्यै मरिसक्ने थियो भन्ने उसको ठम्याइ छ । तर उसले हेर्दाहेर्दै आमा पहिलाको भन्दा निकै गल्दै गएकी उसले पाएको छ । आमालाई केही भयो भने के होला भन्ने सोच्दा ऊ निकै डराउँछ । बाबु पनि उसको कोठामा कहिलेकाहीँ आउँछन् तर धेरै बोल्दैनन् ।

उसको भाइको विवाह भयो । तर ऊ जन्ती जान पाएन । आँगनमा भएको विवाहको सबै रमझम उसले झ्यालमा बसेर हेर्यो । दुलही भित्र्याएपछि उसका भाइ–बुहारी ऊसँग ढोगभेट गर्न उसकै कोठामा आए । ऊ निकै खुशी भयो । उसले नयाँ दुलहीलाई हेरेको हेर्यै गर्यो । आमाले “टीका लगाइदेऊ भाइ–बुहारीलाई” भनेपछि ऊ झसङ्ग भयो र टीका लगाइदियो । आफ्नो बिहेको कल्पना गर्दा उसले जस्ती किसिमकी दुलहीको कल्पना गरेको थियो उसकी बुहारी करिब त्यस्तै पायो उसले, अर्थात् जिउडाल सलक्क परेकी, कपाल लामो भएकी, हँसिली ।

विवाहको रमझम सकियो, पाहुनाहरु फर्किए । दिनहरु बित्दै गए । उसको कोठा भएको माथिल्लो तलामा बुहारी कमै मात्र आउँथी । प्रायः कौसीमा लुगा सुकाउने र उठाउने क्रममा ऊ आउँथी । त्यतिखेर ऊ बुहारीलाई निकै नियालेर हेर्दथ्यो । एक दिन शनिबार ऊ कौसीमा लुगा सुकाउँदै थिई । उसको भाइ बिस्तारै अरुले चाल नपाउने गरी कौसीमा आयो र पछाडिबाट आफ्नी दुलहीलाई अँगालो हाल्यो । दुलहीले आत्तिदै, “छ्या, कस्तो मात्तेको मान्छे” भनी । उसले यो दृश्य आफ्नो कोठाबाट ढोकाको चेपबाट देखिरहेको थियो । यो देखेर उसलाई एकदमै उकुसमुकुस भयो । उसले आफूलाई सम्हाल्न ओढनीले मुख छोपेर सुत्यो ।

बेलाबेलामा उसका भाइ–बुहारी कौसीमा आउँछन्, गफ गर्छन्, जिस्किँदै हात हालेरै चल्छन् पनि । उसलाई त्यतिखेर निकै गाह्रो महसुस हुन्छ । उसको कोठाको ढोका प्रायः सधैँ बन्द रहने र कौसीतिर फर्केको झ्याल नभएकाले उनीहरु कोठामा रहेको दाजुले केही थाहा पाउँदैन भन्ने सोच्दछन् । तर उसले ढोकाको चेपबाट सबै थाहा पाउने गरेको छ ।

गर्मीको मौसम छ । पानी पर्न नसकेर गर्मी झन् उखरमाउलो भएको छ । एक रात १० बजिसकेपछि उसका भाइ–बुहारी माथि कौसीमा आएको उसले चाल पायो । यति राति किन आए होलान् भन्ने जिज्ञासा उसलाई भयो । उसले आफ्नो कोठाको बत्ती निभायो र ढोकाको चेपबाट कौसीतिर आँखा र कान लगायो । मधुरो जून लागिरहेको थियो । उसको भाइले हाफ पाइन्ट मात्र लगाएको थियो, बुहारीले पातलो गाउन । केहीबेर कौसीमा बसेपछि भाइले बुहारीलाई अगाडिबाट अँगालो हाल्यो । बुहारीले भाइको छातीमा टाउको राखी । भाइले बिस्तारै बुहारीको टाउको उठायो र पहिला निधार, त्यसपछि गाला हुँदै ओठमा मुख टाँस्यो । धेरैबेरसम्म उनीहरु यही अवस्थामा लठ्ठी रहे । भाइका हातहरु बुहारीका शरीरमा जताततै घुमिरहेको जूनको उज्यालोमा उसले ढोकाको चेपबाट देख्यो । बुहारीको हात पनि भाइको ढाडमा सल्बलाइरहेको उसले प्रष्टै देख्यो । केहीबेरपछि उनीहरु लठारिँदै कौसीबाट कोठातिर फर्किए । उसलाई असैह्य भयो । उसले बत्ती बाल्यो, ढोकामा चुकुल लगायो र सबै लुगा फुकालेर निर्वस्त्र भयो । ऐनामा आफ्नो नाङ्गो शरीर हेरेर आफैँ रमायो र अघि भाइ बुहारीले जस्तै आफ्ना हातहरु शरीरका विभिन्न भागमा डुलायो ।

यसैबीच एक पटक ऊ नराम्ररी बिरामीले थलियो । केही दिन घरमै राखेर उपचार गर्दा पनि उसलाई निको भएन । डाक्टरको सल्लाहअनुसार उसलाई अस्पताल भर्ना गरियो । उसकी आमाले एक दिन बुहारीलाई “माथि जेठाजुको कोठा पनि सफा गरिदेउ, धेरै भयो उसको कोठा सफा नगरेको” भनी अह्राएर आफू अस्पतालतिर हिँडिन् । सासूले अह्राएअनुसार बुहारीले दिउँसो जेठाजुको कोठा सफा गर्न थाली । जाडो महिना लागिसकेकाले ओछ्यान पनि सुकाइदिनु पर्यो भनेर उसले जेठाजुको पलङबाट डसना उठाई । डसना उठाएपछि ऊ तीन छक्क परी । डसना मुनि त उसैका आफ्ना रङ्गीचङ्गी भित्री लुगा पो थिए ।

बल्ल आज उसले कौसीमा सुकाउन हालेका उसका भित्री लुगाहरु हराउने गरेको रहस्य थाहा पाई । धोएर कौसीमा सुकाएका अरु लुगाहरु नहराउने तर उसका भित्री लुगाहरु मात्र पटक पटक हराएका थिए । उसले भित्री लुगा सबै भन्दा सानो हुने भएकाले हावाले उडायो होला, भित्री लुगा पनि के खोज्न गइरहनु भनेर वास्ता गरेकी थिइन । तर त्यसरी गायब भएका उसका चार ओटा पेन्टी र तीन ओटा ब्रा आज जेठाजुको ओछ्यान मुनी अचानक देख्दा उसको आश्चर्यको सीमा रहेन । उसलाई हाँसो पनि उठ्यो, असक्त जेठाजुको माया पनि लाग्यो ।

उसले यसरी फेला पारेका आफ्ना ती भित्री लुगाहरु झिकेर अलग्गै राखी र डसना लगेर कौसीमा सुकाई । पछि डसना पलङमा राख्दा उसले आफ्ना ती भित्री लुगाहरुलाई पट्याएर डसनामुनि त्यसरी नै राखिदिई, जसरी उसको जेठाजुले जतनले राखेको थियो ।

(कथाकार बस्नेतको हालै प्रकाशित अनुहारहरु कथा सङ्ग्रहबाट । यसलाई मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो ।)

प्रकाशित मिति : २६ फाल्गुन २०७४, शनिबार ०७:३०