१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल फेस्टिभलमा पत्रकारलाई अवरोध, एन्जाको आपत्तिपछि आज एनआरएनएको बैठक बस्दै


७ मंसिर, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले ब्रिसवेन र सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा पत्रकारहरुलाई अवरोध र उपेक्षा गरिएकोमा अष्ट्रेलियन नेपाली पत्रकार संघ एन्जाका महासचिव नारायण खड्काले दुःख व्यक्त गरेका छन् । खड्काले एक वक्तव्य जारी गर्दै मंसिर १९ गते सिड्नीको नेपाल फेस्टिभलमा रिपोर्टिङ गर्न गएका एन्जाका पूर्व अध्यक्ष सञ्चारकर्मी हेमन्त काफ्ले र वर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतलाई कार्यक्रम स्थलमा तैनाथ सुरक्षाकर्मीले गरेको दुर्व्यवहारप्रति संस्थाको ध्यानाकर्षण बताएका छन् ।

उनले पत्रकार भएकाले समाचारका लागि फोटो खिच्न स्टेज नजिकै फोटो पत्रकार बसेको ठाउँमा जान खोज्दा रोकिएको बताउदै कार्यक्रमको रिपोर्टिङ गर्न आएका पत्रकारलाई पास नदिएको र सुरक्षा गार्डबाट पत्रकारलाई दिएको अनुमतिबारे जानकारी समेत नदिएर समाचार संकलनमा अवरोध गर्ने भएको र यसै गरी मंसिर १३ मा ब्रिसबेनमा भएको नेपाल फेस्टिवलमा समेत पत्रकारहरुलाई अबरोध गरिएको बताएका छन् । खड्काले दुवै शहरमा भएका फेस्टिभलमा आयोजकको गलत व्यवहारको निन्दा गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता कुरामा ध्यान दिन एनआरएनएलाई अनुरोध गरेका छन् ।

एन्जाका पूर्व अध्यक्ष समेत रहेका हेमन्त काफ्ले ।

खड्काले वक्तव्यमा अगाडि भनेका छन् सञ्चारकर्मीले महिनौंदेखि ब्रिसवेनको नेपाल फेस्टिवलको समाचार, भिडियो, अन्तर्वार्ता र लेख प्रकाशन तथा प्रसारण गर्दै आएको र कार्यक्रमको दिन बिभिन्न शहरहरुबाट पत्रकारहरु ब्रिसवेन पुगेर रिपोर्टिङ गरेका तर महोत्सवको औपचारिक कार्यक्रम र एनआरएनए क्विन्सल्याण्डका संयोजकले जारी गरेको विज्ञप्तिमा सबै क्षेत्र र वर्गका सहयोगीलाई धन्यवाद दिँदा समेत समग्र सञ्चार क्षेत्रलाई नै बेवास्ता गरिएको बताए ।

एन्जा भविष्यमा यस्ता गलत गतिविधि बन्द गर्न र मिडियाको महत्व बुझ्न ध्यानाकर्षण गराउन चाहन्छ महासचिव खड्काले भनेका छन् । एकपछि अर्को घटनामा पत्रकारलाई निरन्तर बेवास्ता गर्नुले एनआरएनए अष्ट्रेलियाको सञ्चारमाध्यमप्रतिको अमैत्री चरित्र झल्काउँछ भन्ने एन्जाको धारणा रहेको उल्लेख गर्दै वक्तव्यको अन्त्यमा अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरु अष्ट्रेलियाली प्रेस काउन्सिलको आचारसंहिता र नियम अनुसार नेपाली समाजलाई एकताबद्ध गर्न व्यावसायिक र सामुदायिक पत्रकारिता गर्न सदैव प्रतिबद्ध रहेको महासचिव खड्काले उल्लेख गरेका छन् ।

यसै विच दैनिकीसँग कुरा गर्दै एन्जाका पूर्व अध्यक्ष समेत रहेका हेमन्त काफ्लेले आफु सहित एन्जा वर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटा, माधव गैर्हे माथी सिड्नी नेपाल फेस्टिभवलमा दुरव्यवहार भएको बताए । फोटो खिच्न जाने क्रममा अवरोध भए पछि सुरक्षा कर्मीलाई आफ्नो परिचय दिएर आयोजक संग सम्पर्क गराईदिन अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको बताए । उनले नेपालीहरुको महत्वपुर्ण कार्यक्रममा प्रेस पासको व्यवस्थापन समेत नहुनु अत्यन्त लाजमर्दो कुरा भएको बताए ।

यता एनआरएनए प्रवक्ता उमेश खड्काले एन्जाले जारी गरेको वक्तव्य माथि एनआरएनए अष्ट्रेलियाको ध्यानाकर्षण भएको बताए । उनले एनआरएनको पत्रकारहरुलाई दुर्व्यवहार गर्ने वा अपमान गर्ने कुरा नियत नभएको बताउदै ब्रिसबेन नेपाल फेस्टिवलमा पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्न छुटेको कुरा महशुस भएर सच्चाइ सकिएको र सिड्नी घटना पनि नियतवस भएको भन्ने आफुलाई नलागेको बताउदै केहो बुझेर एनआरएनए अष्ट्रेलियाको औपचारिक बैठक पछि धारणा सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:३२