११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

प्रधानमन्त्री बन्ने नाराले सांसदमा गगन थापाको ह्याट्रिक


६ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उहाँले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाउनुभएको थियो । विसं २०३३ साउन ४ गते काठमाडौँमा जन्मनुभएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको छ ।

विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी हुनुभएका उहाँ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध हुनुहुन्थ्योे । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित हुनुभएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित हुनुभएको थियो ।

विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उहाँ विद्रोही समूहबाट सचिव निर्वाचित हुनुभएको हो । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित हुनुभयो । विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उहाँ उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित हुनुभयो। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उहाँ चर्चामा आउनुभयो ।

राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो ।

सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उहाँले धेरै ठाउँमा सम्बोधन गर्नुभयो । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहनुभएका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बन्नुभयोे । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकामा महमान्त्रीमा भने पराजित हुनुभएको थियो ।

महामन्त्रीमा हारेपनि थापा केन्द्रीय सदस्य पदमा मनोनित हुनुभयो । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ बाट उहाँ पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित हुनुभएको थियो । सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गर्नुभयो भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित हुनुभएको थियो । स्वास्थ्य मन्त्री हुँदा उहाँले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाउनुभएको थियो ।

स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो ।
विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उहाँ काठमाडौँ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बन्नुभएको थियो । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित हुनुभएको थियो । कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गर्नुभएको थियो ।

फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तक्र्रिया गर्न रुचाउननुहुने थापा सबैका अनुभव सुन्न लालायित बन्नुहुन्छ । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेप्नुभएका उहाँले राज्यबाट संविधानसभा पदक प्राप्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १५:३३