८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

-दिनेश आचार्य 

१- अर्जुन दाइ २०३६ सालमा काङ्ग्रेस छाडेर जनमत संग्रहमा निर्दलको प्रचारक हुनुभयो । सत्ता स्वार्थका लागि नेपाली कांग्रेस पार्टीलाई धोका दिनुभयो ।

२- पन्चायतको चुनाव जितेर २०३८ सालमै मन्त्री हुनुभयो । तातोभुत्लो केही गर्नुभएन । २०४३ को चुनाव हार्नुभयो । अनि फेरि गाउफर्कतिर लागेर जिल्ला पन्चायत सभापति हुनुभयो । पदका लागि जे पनि गर्नुभयो।

३- २०४६ सालको आन्दोलनको प्रतिकारमा लाग्नुभयो । त्यसबेला सारा काङ्ग्रेसीहरुलाई जेलमा कोच्नु भो ।

४- २०४७ मा राप्रपा थापा समूहको संस्थापक बन्नुभयो । प्रबक्ता हुँदै चुनाव नजितिने थाहा पाएको भोलिपल्ट फेरि काङ्ग्रेसमा छिर्नुभयो ।

५- २०४८ मा काङ्ग्रेस छिर्नुभयो । साम दाम खर्चेर टिकट लिनुभयो । काङ्ग्रेसीले पार्टी भनेर जिताइदिए।

६- २०५१ मा फेरि टिकट लिनुभयो । पार्टीभित्रको अन्तरद्वन्द्वमा संस्थापन पक्ष भन्दै फेरि जिताइयो । २०५६ मा फेरि टिकट लिएर आउनुभो । धन र शक्तिको घमण्ड यति बढेको थियो कि हिजो काँध थाप्ने काङ्ग्रेसहरू उनलाई चाहिएन । कतिलाई गुन्डा लगाएर कुटाउनुभो, कतिलाई पार्टी कारबाहीको उजुरी गर्नुभो । जनताले अत्ति भो भनेर हराइदिए ।

७- राजाको शाशन टिकेको भए उनी मन्त्री खान रेडि भएर बसेकाथे । उनका एक भाइ धिरेन्द्र प्रतिष्ठान खोलेर शाही शाशनको नियुक्ति खाइसकेका थिए । उनको थुप्रै नातेदार दरबारिया नै थिए । तर दुर्भाग्य, शाही शासन टिकेन र उनी काङ्ग्रेस नै बनिरहन पाए ।

८- २०६४ को चुनावमा उनको शक्ति झनै चुलियो । फेरि टिकट लेराए । तर अघिल्लोपटक हारेको साविक ३ नम्बर (विदुर नगर क्षेत्र) बाट उनी भागे । हामी विदुरवासीलाई सत्तोसराप गरे । अनि १ नम्बरका जनताले धुलो चटाए, नामै नसुनेकी विमला सुवेदीको भन्दा आधा भोट नि पाएनन् ।

९- फेरि २०७० मा उनी आफैँ टिकट लेराए । त्यसपाली जिते र मन्त्री पनि बने । तर के काम गरे ? उनैलाई थाहा छैन ।

१०- अघिल्लोपटक २०७४ मा फेरि टिकट लेराए । यसपटक फर्केर विदुर नै आउनुपर्यो। अनि विदुरवासीले हराइदिए । नारायण खतिवडाभन्दा झन्डै ११ हजार भोटले तल पारिए ।

११- अब फेरि २०७९ मा टिकट लेराएका छन । अझै बाँचिरहे अक्सिजन सिलिन्डर बोकेरै उनी आगामी चुनावहरूमा नि भोट माग्न आई रहनेछन । किनकी उनका लागि चुनाव एउटा बिजनेश हो । उनीजस्ता नेताका लागि चुनाव जिते नि हारे जि ५ बर्षमा चम्किने ब्यापार हो । चुनाव लड्न भनेर पार्टी, साथीभाइ, कार्यकर्ता र ब्यापारीसङ्ग उठाइएको १० करोड बढी रकमम मुश्किलले १ करोड खर्चने र अरु नाफा गर्दै जेथा जोड्ने धन्दा हो ।

१२- अर्जुन दाइ २०३८ सालदेखि निरन्तर राजनीतिको केन्द्रमा छन । हारे नि जिते नि शक्तिमा छन । उनी र उनका केही भाइहरू कुनै व्यापार व्यवसाय नगरे पनि करोडौँ, अर्बका मालिक बनेका छन । तर त्यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर प्रश्न गर्ने कोहि छैनन् । बरु उनले दिने दुईचार हजार पकेट खर्च र चुनावमा खुवाउने मासु रक्सीमा मक्ख परेर चाकरी गर्दैछन ।

१३- अर्जुन दाईले चालिस बर्ष सम्म राजनीति गरेर नुवाकोटलाई कस्तो बनाउनुभो ? उहाँलाई जिल्लाले के दियो र उहाँले केके दिनुभो ? के दुई दर्जन कार्यकर्तालाई हेल्थ पोस्ट र स्कुलमा सहायक स्तरको जागिर खुवाउनु नै उपलब्धि हो ? हनुमानहरूलाई जागिर खुवाउन उनी शिक्षामन्त्री हुँदा जथाभावी खोलिएका स्कुलहरूअधिकांश बन्द भैसके । त्यसको हिसाब गर्नुभाछ ?

आफू मन्त्री हुँदा कहिल्यै जिल्ला नटेकेकी आफ्नी बुहारीलाई राउतबेशीको मावी शिक्षक भन्दै बर्षौसम्म तलब खुवाईरहन मनले मान्यो ? त्यसबेला माओवादीले थाहा पाएर कारबाही नगरेको भए दशकौंदेखि शिक्षकको तलब खाँदै अहिले हजुरको बुहारी पेन्सन खाने हुन्थिन । यस्तो भंगेरो छाती र नैतिकताले कसरी समाजसेवा गर्नुहुन्छ ?

१४- अस्ति एउटा भाषण सुनेँ- कोभिडको बेला मैले मास्क र अक्सिजन बाँडे भनिएको रैछ। डा. केदार नरसिंहले आफ्ना साथीहरूले निःशुल्क पठाएको सामान बाँडेर नुवाकोटे जनतालाई भ्रम छर्न अलिकति शरम त लाग्नैपर्ने हो है । तर यस्ता प्रश्न गर्ने स्वाभिमान भएकाहरू तपाईंसङ्ग कोहि छैन । छन त, केवल भाटगिरी गर्नेहरू मात्र ।

१५- अर्जुन दाइ, तपाईं दशकौंदेखि सत्ता र शक्तिमा हुँदा नुवाकोटमा एउटा देखाउन मिल्ने, भन्न सकिने काम के गर्नुभो ? १,२,३ नम्बर दिएर भन्न सक्नुहुन्छ ?

रामशरण महतले पुल सिँचाइ कुलोमा बजेट हालेको छु भन्थे तपाईं स्कुल खोले भन्नुहोला । स्कुल त नुवाकोटमा राणाकै पालादेखि खुलेकै होनि । अहिले पनि उच्च शिक्षा पढ्न अधिकांश नुवाकोटे विद्यार्थी काठमाडौँ नै जानुपर्छ । एउटा उद्योगसम्म छैन । मेरा पिताजीहरूले खोल्दिनुभएको बट्टार क्याम्पसबाहेक अरु कुन छ ? २०४२ मा स्थापना भएको त्यै क्याम्पसले हाम्रो इज्जत धानिरहेको छ । तर तपाईं त त्यो क्याम्पस खोल्ने बेलामा नि असन्तुष्ट हुनुहुन्थ्यो रे । बरु डा. प्रकाशचन्द्र लोहनीले सहयोग गरेका थिए रे !

१६- तपाईंसँग चुनाव जित्ने रणनीति छ होला । तर तपाईसँग मानवीय समवेदना र भावना छैन । ल छातिमा हात राखेर भन्नुस, तपाईंसँग २०३८ सालदेखि पछि लागेर हिंड्ने थुप्रै मान्छे म चिन्छु । उनीहरुको अवस्था कति टिठलाग्दो छ देख्नुभो ? केवल तिनीहरूकै लागि भए पनि केही काम गर्दिएको भए कति राम्रो हुन्थ्यो ।

१७- बहुदलपछी तपाई काङ्ग्रेस बन्नुभो । एउटा समुह सधै तपाईंको पछि लाग्यो । तर तपाईका पछि लाग्ने थुप्रै क्षमता भएका राजनीतिक कार्यकर्ता अहिले पनि सडकमा छन । उनीहरूले कहिल्यै मौका पाए ? अहिले पनि सम्झिन्छु- प्रमोदहरी गुरागाई, कृष्ण कुइकेलजस्ता क्षमता भएका मान्छे तपाईंसङ्ग लागेकै कारण जिन्दगीमा निकै पछि परे, पारिए । बिष्णु आचार्य, ध्रुव अधिकारी, डिल्लीप्रसाद उप्रेती र बिष्णु अधिकारीलाई मात्र हैन । तपाईंले त काङ्ग्रेसको संस्थापक नेताकै रुपमा सम्मानित बद्रीराम भण्डारीलाई समेत घात गर्नुभो । त्यो घातको परिणती भोलिका दिनमा तपाईंका सन्ततिले भोग्ने नै छन । न तपाईंले कार्यकर्ताको संरक्षण गर्नुभो नत आम जनताकै हित हेर्नुभो । तपाईं सत्तामा हुँदा नियुक्ति पाएका र फाइदा लिएका नामहरू सम्झनुहुन्छ ? त्यसमा तपाईंका आफन्त र नातेदारबाहेक अरु को छन ?

१८- तपाईं कहिल्यै सबैको हुन सक्नुभएन । काङ्ग्रेस बन्दा पनि जहिल्यै एउटा सङ्किर्ण कोटरीको मात्र बन्नुभो । र त्यो कोटरीका मान्छेलाई पनि आफ्नो दास मात्रै बनाउनुभो । कहिल्यै माथी उठ्न दिनुभएन।

जिल्लामा होस कि केन्द्रमा एउटा सानो गुट खडा गर्ने र त्यसैको आडमा धाक धम्की जमाउदै आफुमात्र फाइदा लिनुभो । तपाईंकै पछि लागेका कारण पार्टीमा कुनै उन्नति गरेका एकजना छन ? कसैलाई बनाउनु भो ? अवसर आएको बेला पनि आफ्नै भाइ भतिजाबाहेक तपाईंले कसैलाई सक्षम देख्नु नै भएन । तपाईंका कार्यकर्तालाई अनियमित रुपमा जागिर दिएकै कारण एकजना जिल्ला शिक्षा अधिकारीको जागिर गयो । तिनले तपाईंलाई सरापेको सुन्ने कान मेरै हो।

१९- नेपालीको औसत आयु अहिले ७१ बर्ष हो । तपाई त्यो नाघेर पनि ७/८ बर्ष कटिसक्नुभो । राज्यले नै आफ्ना कर्मचारीलाई ५८ बर्ष भएपछि तेरो दिमागले काम गर्दैन्ज बूढो भइस भनेर अवकाश दिन्छ । तपाईंको त्यो अबकाश लिने उमेर कटेको पनि २० बर्ष भैसक्यो । ५० बर्ष त राजनीतिमै बिताइसक्नुभो ।

अब आएर दर्जनौं रोगले गाँजेको त्यो बूढो दिमागमा कुनै नवीन सिर्जना फुर्ला र ? युवावयमा देश बनाउँछु भनेर उम्लेको सोच सत्तामा पटकपटक पुग्दा केही गर्न सक्नुभएन । अब के नै पो गर्नुहोला र !

२०- केन्द्रमा पनि कहिले गिरिजाको, कहिले गणेशमानको, कहिले खुमबहादुरको र कहिले देउबाको फेर समातेर आफ्नो फाइदा मात्र हेर्नुभो। तपाईंसग न कुनै आदर्श र ईमान छ । न त कुनै लोकतान्त्रिक पद्धतिप्रतिको बचनबद्धता ।

२१- तपाई र तपाईंको भाईहरू पार्टीको निर्णायक तहमा हुँदा कहिल्यै लोकतन्त्रको अभ्यास गर्नुभो ? आफुसँग असहमत हुनेहरूलाई सधै सिध्याउन लागिपर्ने तपाईंको शैली पुर्णतः अधिनायकवादी हो । तपाईं काङ्ग्रेस बन्न सुहाउने मान्छे नै हैन । सदस्यता लिनुमात्र काङ्ग्रेस हुनु हैन, काङ्ग्रेस हुन ईमान र विवेक पनि चाहिन्छ ।

वास्तवमा अर्जुन दाइ, तपाई एउटा डेट एक्सपायर औषधि हो । जसले नुवाकोटे जनताको रोग निको पार्न सक्दैन । बरु विषको काम गर्छ । जुग बदलियो । व्यवस्था बदलियो । समय कहाँ पुग्यो । प्रबिधि झनै फेरियो । तर तपाईंको शैली, तपाईंको उम्मेद्बारी र जनताको अवस्था फेरिएन । अझै नुवाकोटलाई बिगार्न कति तम्सिनुहुन्छ ?

२२- यदि तपाईंमा लोकतान्त्रिक आदर्श र ईमान हुनुहुन्थ्यो भने आजभन्दा १० बर्ष अगाडी नै नेतृत्व सुम्पेर युवा पुस्तालाई अघि बढाउनुहुन्थ्यो । तर तपाई अझै पनि जालझेल गरेर आफैँ आउँदै हुनुहुन्छ । यसले पनि पुष्टि गर्छ कि, तपाईंको राजनीति भनेको तपाईं एक्लैको लागि हो, नुवाकोटका जनताको लागि हैन।

२३- हामीले खोजेको गगन थापाजस्तो डाइनामिक नेतृत्व हो । जो १० बर्ष राजनीति गर्छु अनि रिटाएर हुन्छु भनेर ३ बर्ष अघि नै घोषणा गरेर बसेका छन । तपाईं त आफ्नै ज्वाईंसङ्ग चुनाव लडेर आफू बाहेक कसैलाई स्विकार्दिन भन्ने दम्भ बोक्नुहुन्छ । यसर्थ पनि हाम्रो सोच, हाम्रो विवेक र हाम्रो ईमानले तपाईंलाई नेता मान्न दिदैन । तपाईंलाई भोट हाल्न मन मान्दैन । किनकि आम जनता नै परिवर्तनको पक्षमा छन । त्यसैले अर्जुनदाई यसपटकलाई- नो । (समसामयिक विषयमा कलम चलाउने वरिष्ठ पत्रकार आचार्य राजनीति र सेयर बजारका विश्लेषक हुन ।)

यो पनि पढ्नुहोस्

काँचुली फेर्नेमा सर्प र रङ फेर्नेमा छेपारोलाई उछिनेका अर्जुननरसिंह केसी नवौँ पटक उम्मेदवार

नुवाकोटको बेलकोटगढी १० का २२ परिवारले घण्टीमा भोट हाल्ने, अर्जुननरसिंह केसीलाई गम्भीर धक्का

नुवाकोट २ मा घण्टी चम्किदा गठबन्धनका केसी रेड जोनमा, सूर्यका खतिवडा उत्साहित

नुवाकोटमा अर्जुननरसिंह केसीकै वडामा कांग्रेस निल, विदुर ४ मा एमालेको प्यानल नै विजयी

अर्जुननरसिंह केसीका पूर्व स्वकीयसचिव जनकराज ढुंगानाद्धारा कांग्रेस परित्याग

नुवाकोटमा ७५ वर्षका वृद्धदखि ३२ वर्षका युवासम्म चुनावी मैदानमा (सबै बिबरणसहित)

नुवाकोट २ मा सत्ता गठबन्धनमा भाँडभैलो, कांग्रेस र माओवादी भिड्दा समाजवादी च्यापियो

नुवाकोटमा कांग्रेस र माओवादीले सहमति तोडे, उम्मेदवारी दिन गएका समाजवादीका नेता ट्वाँ

नुवाकोट कांग्रेसमा फेरि बल्झियो निषेधको राजनीति, केसी समूह सिफारिसमै परेन

केसी परिवारको सिण्डिकेट तोडिएपछि नुवाकोट छिरे डा प्रकाशरण महत

नुवाकोट र बागमतीमा केसी दाजुभाइलाई पछारेका डा महत महामन्त्रीमा आफैँ पछारिए

नुवाकोट कांग्रेसमा केसी समूह नेतृत्वबाट च्यूत, महतको कब्जामा पुग्यो कांग्रेस

नुवाकोटमा जस्ता काण्डको अर्को रूप, अर्कैको सामग्री केसी परिवारले आफ्नो भनेर बाँडे

कांग्रेसको भ्रातृ संस्था नै बन्ने भो पत्रकार महासंघ ! बैठकमा नेता राखेर प्रशिक्षण

कांग्रेस नेता डा प्रकाशशरण महतलाई नुवाकोटमा निषेध, गृहजिल्ला जान नपाएपछि भोजपुर पुगे

३७ वर्षको जेल सजाय तोकिएर सफाइ पाएका सुनबहादुर रिहाइपछि कांग्रेस नेताले साटे खुशी

नुवाकोटमा नक्सापास नगरी बनेको चर्च उद्घाटनमा कांग्रेस नेताको लर्को (फोटोफिचर)

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १८:४८