रवि लामिछानेले नयाँ नागरिकता पेश गर्न सकेनन्, कसरी दर्ता भयो उम्मेदवारी ?
३० कार्तिक, काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकता प्रमाणपत्रको बारेमा भ्रम छर्ने प्रयास गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएपछि डिजिटल र भौतिक प्रहार सुरू भएको भन्दै नागरिकताको बिषयबारे केही बताउन चाहेनन् ।
उनले पहिल्यै सल्टिसकेको आफ्नो नागरिकताको विषय अहिले उछाल्न खोजिएको भन्दै भ्रम छर्ने कोशिश गरेका छन । हरेक विषयमा प्रमाणसहित बोल्नुपर्छ भन्ने लामिछानेले खारेज भएको बाहेक अर्को नेपाली नागरिकता नलिएका कारण षडयन्त्र भएको भन्दै विषय मोड्न खोजेका छन । लामिछानेले चार वर्षअघि नै आफ्नो नागरिकताका विषयमा सबै कुरा सेटल गरिसकेको दाबी गरेका छन । तर उनले नागरिकता भने देखाउन सकेनन् ।
लामिछानेले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिक भएका कारण खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्र नै पेश गरेका छन । यसअघि दैनिकीले उनले पेश गरेको नागरिकताको विषयमा समाचार प्रकाशित गरिसकेको छ । लामिछानेको नागरिकताको विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि उनले पेश गरेको खारेज भैसकेको नागरिकताको प्रतिलिपि नै सार्वजनिक भैसकेको छ । उनले त्यसको प्रतिरक्षामा आफूले नयाँ बनाएको नागरिकताको बारेमा जानकारी दिन सकेका छैनन् ।

नेपाल नागरिकता नियमावली २०६३ अनुसार नेपाल नागरिकता ऐनको दफा ११ अनुसार पुनः नेपाली नागरिकता पूरा गर्न केही निश्चित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । नियमाली अनुसार पुनः नेपाली नागरिकता कायम गर्ने कार्यविधिः (१) ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसमक्ष अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
त्यस्तै उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची-१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने व्यवस्था नियमावलीमा गरिएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भने लामिछानेले नयाँ नागरिकता लिएका छैनन् । उनले नयाँ नागरिकता प्राप्त नगरेका कारण उनी नेपाली नागरिक भनेर कानुनले चिन्दैन तर उनले खारेज भएको नागरिकता देखाएर र त्यसको प्रतिलिपि राखेर उम्मेदवारी दर्ता गरेको देखिन्छ । यसकारण रवि लामिछानेको उम्मेदवारी नै अबैध रहेको देखिन्छ । फेरि लामिछानेको नागरिकता नै नभएका कारण उनले खारेज भएको नागरिकता पेश गरेका कारण उनको दलको अस्तित्वमाथि नै प्रश्न चिन्ह उब्जिएको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १५:५०