८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रवि लामिछानेको नेपाली नागरिकता नै नरहेको खुलासा, कानुन अनुसार उम्मेदवारी खारेज हुने


३० कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गर्दा अमेरिकी नागरिक भएका कारण खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्र पेश गरेको खुलासा भएको छ । उनको नागरिकताको विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि लामिछानेले पेश गरेको खारेज भैसकेको नागरिकताको प्रतिलिपि नै सार्वजनिक भएको छ ।

योसँगै निर्वाचन अधिकृतको कार्यालयले लामिछानेको नागरिकताका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । मतदानको सम्मुखमा लामिछानेको नागरिकता विवाद बाहिर आएपछि धेरैले उनको उम्मेदवारी नै खारेज हुनसक्ने अनुमानहरू गरिरहेका छन । यद्यपी निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

लामिछाने अमेरिकी नागरिक भएको प्रमाणित भएसँगै उनको पहिलो नागरिकता खारेजी भएको थियो । उनले नेपालको संविधान र कानुन अनुसार अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्न सक्थे तर उनले खारेज अर्थात निष्क्रिय भैसकेको नागरिकताको प्रमाणपत्र बोकेको देखिएको छ । योसँगै उनको नागरिकताको प्रमाणपत्र नरहेको भन्दै उम्मेदवारी खारेज हुने सम्भावना बढेको छ ।

२०५० सालमा तत्कालीन काठमाडौं नगरपालिका वडा नम्बर ६ बाट रविले प्राप्त गरेको नागरिकता नम्बर १८२२२ रहेको छ । उक्त नागरिकताको अभिलेख नै गायब पारिएको समेत अनुमान गरिएको छ । अहिले सार्वजनिक भएको नागरिकता नम्बरमा अन्य जिल्लाबाट चार वटा नागरिकता जारी भएको देखिएको भए पनि अभिलेखमा उक्त नम्बरको नागरिकता रविले पाएको कुनै अभिलेख समेत नभेटिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार उनको नागरिकता खारेज भएको रेकर्ड रहेको भए पनि उनले पुनः नेपाली नागरिकता लिएको रेकर्ड रहेको छैन । नेपाल नागरिकता ऐन २०६३ले नागरिकता निष्क्रिय हुने विषयमा बोलेपनि सक्रिय हुने विषयमा धेरै नबोलेका कारण यो अदालसम्म पुगेर व्याख्या हुनेपर्ने अवस्था पनि देखिएको छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा १० (१) अनुसार कुनैपनि नेपालीले विदेशी मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ । नागरिकता ऐन २०६३ अनुसार नै फेरि विदेशी नागरिकता त्याग्ने प्रक्रिया सुरु भए नेपालको नागरिकता फेरि सक्रिय हुन्छ । तर प्रक्रिया गरेको भन्ने राज्यले फेसबुकबाट हेर्दैन । यसैले कानून अनुसार नागरिकता प्राप्ति कार्यविधि बनेको छ ।

विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता सक्रिय बनाउँन चाहे विदेशी नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेको निस्सा (प्रमाण) तोकिएको अधिकारी (आफ्नो स्थायी बसोबास भएको जिल्ला प्रशासनका अधिकारी) समक्ष बुझाउनुपर्नेछ । त्यसरी निस्सा पेस हुन आएमा अधिकारीले तत्कालै पुरानै नागरिकता नम्बर राखेर प्रचलनका लागि नागरिकताको प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउँनुपर्नेछ ।

त्यही प्रतिलिपि कपी प्रचलनका लागि प्रयोगमा आउनेछ । पुरानो प्रमाणपत्रले निस्सा पेस भएको हो की होइन, भन्ने प्रष्ट गर्न सक्दैन । त्यसैले त्यो फगत कागज बराबर हो । यदी निस्सा पेस भएको हो भने प्रशासनले प्रतिलिपि दिनुपर्दथ्यो तर गृह मन्त्रालयको रेकर्डमा त्यो देखिएको छैन । त्यसकारण निर्वाचन अधिकृतको कार्यालयले रवि लामिछानेको उम्मेदवारी खारेज गर्ने सम्भावना रहेको छ । हामीले यस विषमा लामिछानेसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ११:४९